पनौतीका वरिष्ठ प्रशासकीय अधिकृतद्वारा कर्मचारीमाथि हातपात

अधिकारी भन्छन् "कडा स्वरमा पाखुरा समातेर सोफामा राखेकै हो"
नौलो समाचार संवाददाता
२०७९ चैत्र ५, आईतबार मा प्रकाशित १२५५ पटक पढिएको
पनौतीका वरिष्ठ प्रशासकीय अधिकृतद्वारा कर्मचारीमाथि हातपात

चैत ४, काभ्रे। पनौती नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारीले नगरपालिकाकै कर्मचारीमाथि हातपात गरेका छन्।

अधिकारीले कार्यालय सहयोगी राजेन्द्रप्रसाद कोइरालालाई उपप्रमुख गिता वञ्जाराकै अगाडि उनकै कार्यकक्षमा कठालो समातेका हुन्।

आफूमाथि दुर्व्यवहार भएको भन्दै कोइरालाले नगरप्रमुखको सचिवालय, कर्मचारी युनियनमा उजुरी दिएका छन्। ‘उपप्रमुखज्यूसँग कुरा गर्दै थिएँ, एक्कासी आएर कठालोमा समातेर यहाँ बस् भनेर लछारपछार पार्नुभयो, सर्ट पनि तान्नुभयो, टाँक पनि खुस्किएको छ,’ कोइरालाले भने, ‘उपप्रमुखकै अगाडि दुर्व्यवहार भएपछि न्यायको लागि निवेदन दिएको छु, दोषीमाथि कारबाही हुन्छ कि भन्ने अपेक्षा छ।’

वरिष्ठ प्रशासकीय अधिकृत अधिकारीले भने त्यसो नभएको दाबी गरेका छन्। ‘अलिकति कडा स्वरमा पाखुरा समातेर सोफामा राखेकै हो,’ उनले भने, ‘यो घटनालाई उल्टोपाल्टो गरेर दुव्र्यवहार गर्यो, कठालो समात्यो भनेर मिडियामा ल्याएको मात्रै हो, त्यो मिडियामा ल्याउनुपर्ने विषय नै हैन।’

घटना सामान्य भएकाे दाबी गरेका अधिकारीले भने एक महिना लामाे बिदा बस्न निवेदन दिएका छन्। तर उनकाे निवेदन स्विकृत भने भएको छैन।

उपप्रमुख बञ्जराद्वारा अधिकारीलाई जोगाउने प्रयास

उपप्रमुख गिता बञ्जाराले घटना ‘सामान्य’ भएको भन्दै ढाकछोपकाे प्रयास गरिन्। ‘सामान्य कुरा हो, कठालो समातेको हैन, दुवैजना आवेशमा आउनुभयो, वरिष्ठ प्रशासकीय अधिकृतले सोफामा बस भनेर पाइन्ट तान्नुभएको हो, नभएको कुरा गर्नुहुँदैन, मैले देखेको त्यति हो’ उनले भनिन्, ‘पहिला दुवैजना आवेगमा आएपनि पछि सहमतिमा नै बाहिर निस्किनुभएको हो, कठालो समातेको, टाँक खसेको भन्ने विषय हैन।’

नगर प्रमुख रामशरण भण्डारीले घटनाबारे आपूmले ढिला जानकारी पाएपनि त्यसको बारेमा छानबिन भइरहेको बताए। ‘म नगरपालिकामा नभएको बेला घटना भएछ, अन्याय भएको भन्दै निवेदन परेको छ, छानविन गरेपछि मात्रै घटनाबारे प्रतिकृया दिन सकिन्छ ।’

२०५४ सालमा नगरपालिकामा सेवा प्रवेश गरेका अधिकारीले नगरपालिकामा हालिमुहाली गर्दै आएका छन्।

उनीमाथि ‘लोकल’ भएको कारण शक्ति र पहुँचका आधारमा हालिमुहाली गर्दै आएका आरोप छ। २०७४ सालको स्थानीय तह निर्वाचनपछि नगर प्रमुख भीम न्यौपानेलाई प्रभावमा पारेर सातौँ तहका कर्मचारी अधिकारीले आठौं तहको सेवा, सुविधा लिएर अख्तियार दुरुपयोग गर्दै आएका छन्।

३ वर्षदेखि लिँदै आएको अतिरिक्त सुविधा असुलउपर गर्नुपर्ने नगरपालिकाका कर्मचारी नै बताउँछन्।

प्रतिक्रिया दिनुहोस