शारदा मावि सुन्थानले गर्यो बृहत शैक्षिक तथा विज्ञान प्रदर्शनी

रुपक महत
२०७९ चैत्र ५, आईतबार मा प्रकाशित ११०५ पटक पढिएको
शारदा मावि सुन्थानले गर्यो बृहत शैक्षिक तथा विज्ञान प्रदर्शनी

चैत ५, काभ्रे। शारदा मावि सुन्थानले बृहत शैक्षिक तथा विज्ञान प्रदर्शनीको आयोजना गरेको छ।

शारदा माविको प्राङ्गणमा आयोजित शैक्षिक तथा विज्ञान प्रदर्शनीलाई सफल बनाउन नगर क्षेत्रका विभिन्न विद्यालयका विद्यार्थीहरुले सहभागीता जनाएका थिए भने केहि विद्यालयहरुले आफ्ना विद्यार्थीहरुलाई अवलोकन भ्रमण गराएका थिए।

शैक्षिक प्रदर्शनीमा बिभिन्न विद्यालयबाट विद्यार्थी तथा शिक्षकको सहभागिता रहेको थियो।

शारदा मा.विका विद्यार्थीहरु आफैले शैक्षिक सामाग्रीहरुको निर्माण तथा प्रस्तुतीकरण गरेका हुन्।

शैक्षिक प्रदर्शनीको मुख्य ब्यवस्थापन विज्ञान शिक्षक राजु ताम्राकार र सह-व्यवस्थापन परशुराम केसीले गर्नुभएको थियो।

कार्यक्रमका प्रमुख अतिथि पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीले पनि शैक्षिक प्रदर्शनीको चाखपुर्वक अवलोकन गर्नुभएको थियो।

शैक्षिक प्रदर्शनीलाई शिक्षक, विद्यार्थी, अविभावकलगायतका गरी ५०० सय भन्दा बढीले अबलोकन गरेका थिए।

विशेषगरी विज्ञानका शैक्षिक सामग्रीहरु प्रदर्शनीमा राखिएका थिए भने केहि गणित र अन्य विषयका सामग्रीहरु राखिएका थिए।

प्रदर्शनीमा कृत्रिम भू-उपग्रह, कृत्रिम हाइड्रोलिक लिफ्ट, वाटर डिस्पेन्सर, चन्द्रमा र पृथ्वी, तथा पुलको निर्माण, टेलिस्कोप, ज्वालामुखी लगायत अन्य धेरै सामाग्रीहरु प्रदर्शन गरिएको थियो।

शैक्षिक प्रदर्शनीमा नगर क्षेत्रका विभिन्न ७ वटा विद्यालयले भाग लिएका थिए।

पनौती नगरक्षेत्रका अन्य विद्यालयले पनि यस्तै किसिमको शैक्षिक तथा विज्ञान प्रदर्शनीको आयोजना गर्नुपर्ने नगर प्रमुख रामशरण भण्डारीले विचार व्यक्त गर्नुभयो। नगर प्रमुख भण्डारीले विद्यार्थीहरु आफैले प्रयोग गरेर जीवनभर सम्झने र अन्यलाई पनि सिकाउँन सक्ने तथा जुन बिषयमा रुची छ त्यहि विषयमा अझै प्रगती गर्न पनि यो शैक्षिक प्रदर्शनीले मद्दत गर्ने बताउनुभयो।

यस्तो बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं वडा नम्बर-९ का अध्यक्ष सहकुल हुमागाईंले विद्यार्थीहरुलाई यो मेलाले प्रत्यक्ष रुपमा विज्ञान लगायतका विषयका सिक्नको लागि ठुलो सहयोग पुगेको बताउनुभयो।

विद्यार्थीहरुले ३ दिनको छोटो समयमै उत्कृष्ट शैक्षिक सामग्री तयार पारेको बताउदै शारदा मावि सुन्थानका प्रधानाध्यापक मदनसुन्दर गोच्छेले यस्तो शैक्षिक प्रदर्शनीले विद्यार्थीहरुको प्रयोगात्मक परिक्षणमा ठुलो सहयोगी बन्ने र समग्र नगर क्षेत्रका अन्य विद्यालयलाई पनि यो एउटा राम्रो शैक्षिक सन्देश भएको बताउनुभयो।

शैक्षिक प्रदर्शनीको मुख्य उद्देश्य भनेको विद्यार्थीहरुको क्षमता प्रस्तुति रहेको बताउदै विद्यालय सहायक प्रधानाध्यापक संगीता केसीले भविष्यमा उनीहरु कुन क्षेत्रमा दखल राखेका छन् र कुन क्षेत्रमा सिप सिक्न चाहन्छन भन्ने कुराको पनि पहिचान गर्न सकिने उल्लेख गर्नुभयो।

 


प्रतिक्रिया दिनुहोस