नमोबुद्ध–८ मा २ लाख लिटर क्षमताको पानी टंयाकी शिलान्यास

नौलो समाचार संवाददाता
२०७९ चैत्र १२, आईतबार मा प्रकाशित ८९१ पटक पढिएको
नमोबुद्ध–८ मा २ लाख लिटर क्षमताको पानी टंयाकी शिलान्यास

चैत १२, काभ्रे। काशिखण्ड बृहत् खानेपानी आयोजना अन्तर्गत नमोबुद्द नगरपालिका –८ मा बन्ने २ लाख लिटर क्षमताको ट्यांकी शिलान्यास गरिएको छ।

नमोबुद्ध नगरपालिका वडा नम्बर ८ का १ हजारका साथै वडा नम्वर ७ र ९ का ५०० गरी १५ सय घरधुरी लाभान्वित हुने आयोजनाको सबैभन्दा ठूलो रिजर्भायर ट्यांकीको नमोबुद्ध नगर प्रमुख कुनसाङ लामा, उपप्रमुख रत्नबहादुर लामा, वडा नं ८ का अध्यक्ष शेरबहादुर लामा, संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका प्रमुख अतुलेश्वर कर्ण लगायतले शिलान्यास गर्नुभएको हो।

संघीय सरकारको १५ करोड ४७ लाख ४३ हजार १९० को लागतमा निर्माण हुने आयोजनाको लागि वडा न ८ को पिपलटारमा २ वटा इनार (सम्प वेल) निर्माण गरिएको छ। प्रति सेकेण्ड ६ लिटर पानी संकलन गरेर ५ स्थानमा लिफटिंग गरी १७ वटा टंयाकीमा जम्मा गरेर वितरण हुने उपभोक्ता समितिका अध्यक्ष मनोज अधिकारीले जानकारी दिनुभयो।

उच्चकोटी/अमर/नवआदर्श जेभीले निर्माणको जिम्मा पाएको छ। २०७९ मंसिर ९ गते सम्झौता भएको आयोजना २०८१ साल मंसिर २३ गते सम्पन्न गर्नुपर्नेछ।

अध्यक्ष अधिकारीका अनुुसार, साविक डराउनेपोखरी गाविसमा रहेका दाप्चा खानेपानी उपभोक्ता समिति (स्किम नं २), डराउनेपोखरी खानेपानी उपभोक्ता समिति (क) र (ख) एकिकृत गरेर काशीखण्ड बृहत खानेपानी आयोजना सञ्चालनमा ल्याइएको हो।

साविक आयोजनाका ३ वटा टंयाकी समेत १७ वटा टंयाकी निर्माण गरिएको उपभोक्ता समितिका सदस्य रामेश्वर अधिकारीले जानकारी दिनुभयो।

शिलान्यास गर्दै नगरप्रमुख कुनसाङ लामाले नगरको गौरवको आयोजना रहेको उल्लेख गर्दै समयमा नै काम सक्न निर्माण कम्पनी र उपभोक्ता समितिलाई निर्देशन दिनुभयो। उहाँले नगरको विकासको लागि प्रतिवद्ध रहेको भन्दै सबैको साथ र सहयोगले मात्रै त्यो सम्भव हुने तर्क गर्नुभयो।

कार्यक्रममा आयोजना प्रमुख कर्ण, वडा अध्यक्ष शेरबहादुर तामाङ, उपभोक्ता समितिका अध्यक्ष मनोज अधिकारी, सचिव बिलबहादुर श्रेष्ठ, सदस्य रामेश्वर अधिकारी लगायतले छिटो आयोजना सम्पन्न भएर छिटो घरदैलोमा नै गुणस्तरीय खानेपानी पाउने अपेक्षा गर्नुभयो।

प्रतिक्रिया दिनुहोस