पनौतीको मध्यमार्ग सहकारीद्वारा कृषकलाई ७० लाख बराबरको कृषि यन्त्र वितरण

नौलो समाचार संवाददाता
२०७९ चैत्र १५, बुधबार मा प्रकाशित ११५८ पटक पढिएको
पनौतीको मध्यमार्ग सहकारीद्वारा कृषकलाई ७० लाख बराबरको कृषि यन्त्र वितरण

चैत १५, काभ्रे। पनौतीको ‘मध्यमार्ग कृषि सहकारी संस्था’ले कृषकहरूलाई ७० लाखबराबरको आधुनिक कृषि यन्त्र वितरण गरेको छ।

पनौती नगरपालिका-८ मा रहेको संस्थाले पनौती वडा नम्बर ४ र ८ का कृषकहरूलाई कृषि ज्ञान केन्द्र काभ्रेको ५० प्रतिशत अनुदानमा आधुनिक कृषि यन्त्र वितरण गरेको हो।

कुल ७० लाख बजेट रहेको उक्त कार्यक्रममा ३५ लाख कृषकहरुले संकलन गरेका छन् भने ३५ लाख कृषि ज्ञान केन्द्र मार्फत प्रदेश सरकारले उपलब्ध गराएको छ।

मध्यमार्ग कृषि  सहकारीले १५ वटा हाते ट्राक्टर, १ सय वटा  विषादी छर्ने स्प्रे, १ हजार वटा प्लास्टिक टनेल र १० वटा मल्चिङ प्लास्टिक तथा उन्नत जातको गोलभेडा लगायत अन्य तरकारीका बिउबिजन, खाद्यतत्व, विषादीलगायतका सामग्री वितरण गरेको सहकारी संस्थाका अध्यक्ष प्रदिप केसीले जानकारी दिनुभयो।

आज सहकारी संस्थाको प्रांगणमा आयोजित कार्यक्रममा बोल्दै पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीले आधुनिक कृषि व्यवसायले आम्दानी वृद्धि गरी कृषकको आर्थिक रूपले सक्षम बनाउने बताउदै परम्परागत कृषि व्यवसायलाई आधुनिकीकरणमा बदलेर आम्दानी वृद्धि गर्नुपर्ने बताउनुभयो। उहाँले कृषिमा आधुनिकीकरण र व्यवसायीकरणका लागि प्रविधिमैत्री र प्राविधिक जनशक्तिलाई प्राथमिकतामा राखिएको बताउनुभयो।

उपप्रमुख गीता बन्जाराले कृषि यन्त्रहरुमा  कृषकको पनि ५० प्रतिशत रकम परेको हुनाले खरिदमा पनि आर्थिक भार कम पर्ने उल्लेख गर्नुभयो। परम्परागत खेतीलाई आधुनिक खेतीमा परिवर्तन गर्न पनि यस्ता कृषि यन्त्र र कृषि सामग्रीहरु समय-समयमा ठाउँ र आवश्यकता हेरेर वितरण गरिहरनु पर्ने उपप्रमुख बन्जाराले बताउनुभयो।

यस्तै, नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारीले नगरभित्र रहेका १ सय ४० वटा सहकारीहरु मध्ये पनि कृषि सहकारीहरुले कृषक र कृषि उत्पादनमा सहयोग र योगदानमा मद्दत पु¥याएको बताउनुभयो ।

५० प्रतिशत रकममा हाते ट्राक्टर, स्प्रे, प्लास्टिक टनेल लगायतका सामग्री पाउदा कृषकहरु खुसि देखिन्थे।

प्रतिक्रिया दिनुहोस