नेपाली कांग्रेस नमोबुद्धको वडा सम्मेलन चैत्र २५ सम्ममा सक्न निर्देशन

नौलो समाचार संवाददाता
२०७९ चैत्र १६, बिहिबार मा प्रकाशित २७९ पटक पढिएको
नेपाली कांग्रेस नमोबुद्धको वडा सम्मेलन चैत्र २५ सम्ममा सक्न निर्देशन

चैत १७, काभ्रे। नेपाली कांग्रेस नमोबुद्धले चैत्र २५ गतेसम्ममा सबै वडाको सम्मेलन गरिसक्ने निर्णय गरेको छ।

भकुण्डेवेशीमा सम्पन्न नगर कार्यसमितिको पूर्ण बैठकले चैत्र २२ देखि २५ गते भित्र ११ वटै वडालाई सम्मेलन गर्न निर्देशन गर्ने निर्णय गरेको हो। सबै वडाबाट प्रतिवेदन आएलगत्तै नगर सम्मेलन गर्ने निर्णय भएको नगर सचिव रामेश्वर अधिकारीले जानकारी दिनुभयो।

नेपाली कांग्रेस काभ्रेले चैत्र मसान्त भित्र सबै वडाको सम्मेलन सकेर गाउँपालिका र नगरपालिका कार्यसमितिको सम्मेलन सक्न निर्देशन दिएको छ।

यसैविच, नेपाली कांग्रेस नमोबुद्धले एक दिवसीय प्रशिक्षण समेत चलाएको छ । नेपाली कांग्रेस जिल्ला कार्यसमितिका उपसभापति रमेशप्रसाद हुमागाईले नगर कार्यसमितिका पदाधिकारी, सदस्य, वडा सभापति, भातृ तथा शुभेच्छुक संस्थाका प्रमुख, पदाधिकारीलाई पार्टी र जनप्रतिनिधीको अन्तर सम्बन्धका बारेमा प्रशिक्षण दिनुभएको थियो।

प्रशिक्षणमा उहाँले विधी, प्रकृया पालना गरेर बजेट र विकास माग गर्न अनुरोध गर्दै पार्टी संगठनमा पनि ध्यान दिन अनुरोध गर्नुभयो।

नगर प्रमुख समेत रहेका कांग्रेस नगर सभापति कुनसाङ लामाले सबैलाई साथमा नै लिएर विकास निर्माण अघि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा कांग्रेस महासमिति सदस्य हरिबहादुर बल, नेपाली कांग्रेस काभ्रेका प्रवक्ता सन्तमान तामाङ, जिल्ला सदस्य राधिका तिमल्सिना श्रेष्ठ, प्रदेश क्षेत्रीय कार्यसमिति १ (ख) का सदस्य मिना लामा, नगर उपसभापति इन्द्रबहादुर दाहाल, सचिव महेन्द्र थिङ, नमोबुद्ध–६ का वडाअध्यक्ष टिका बहादुर केसी, नेपाल तरुण दल नमोबुद्धका संयोजक दिपेशचन्द्र लामा, नेपाल महिला संघ नमोबुद्धका सभापति शान्ता नराल पाठक जनताको आवस्यकतालाई ध्यान दिएर विकास निर्माण अघि बढाउनुपर्ने धारणा राख्नुभएको थियो।


प्रतिक्रिया दिनुहोस