आयुर्वेद उपचारमा नागरिकको विश्वास बढ्दै, बनेपामा आयुर्वेद अस्पताल निर्माणको तयारी

नौलो समाचार संवाददाता
२०७९ चैत्र २२, बुधबार मा प्रकाशित ६२२ पटक पढिएको
आयुर्वेद उपचारमा नागरिकको विश्वास बढ्दै, बनेपामा आयुर्वेद अस्पताल निर्माणको तयारी

चैत २२, काभ्रे। पछिल्लो समय आयुर्वेद उपचार र औषधी प्रयोग गर्नेको संख्या बढ्दै गएको छ। कोभिड पछि काभ्रेमा पनि आयुर्वेद सेवा लिने मानिसहरुको संख्या बढेको पाईएको हो।

सोमबार जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बनेपाले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बनेपाका प्रमुख डा.वशंम्वदा कौण्डिन्यायनीले पछिल्लो समयमा आयुर्वेद केन्द्रमा उपचारका लागि आउने सेवाग्राहीको बढ्दै गएको बताउनुभयो। उहाँले चालु आर्थिक वर्षको अन्त्यसम्ममा यसको उपचार तथा प्रयोग गर्नेको संख्या १५ हजार भन्दा बढी पुग्ने आकलन पनि गर्नुभएको छ।

आयुर्वेद उपचार र औषधी प्रयोग गर्नेको संख्या बढेसंगै बनेपामै २५ वेड क्षमताको आयुर्वेद अस्पताल निर्माणका प्रक्रिया समेत अघि बढाइएको छ। कार्यक्रममा बोल्दै बनेपा नगरपालिकाका मेयर शान्तिरत्न शाक्यले आयुर्वेद अस्पताल बनेपामै निर्माण गर्ने प्रतिबद्धता जनाउनुभयो। आयुर्वेद अस्पताल १५ रोपनी जमिनमा निर्माण हुने यो अस्पताल सुरुमा २५ वेडको हुने सो अवसरमा जानकारी गराईएको छ। वनेपा नगरपालिका वडा नम्बर ६ मा जग्गा हेर्ने काम भईरहेको बताइएको नगर प्रमुख शाक्यले जानकारी दिनुभयो।

धुलिखेलमा पतंजलीले २५ वेड क्षमताको आयुर्वेद अस्पताल सञ्चालन गरिरहेको छ। यस्तै बनेपामा विशेषज्ञ सेवा सहितको ४ वटा आयुर्वेदका पोलिक्लिन सञ्चालनमा रहेका छन्। बनेपाबाटै अकुपञ्चर विधि मार्फत उपचार सुरु हुनेछ भएको छ।

सर्वसाधारण आयुर्वेद सेवा प्रति आकर्षित भएपछि सरकारले धेरै नयाँ प्रविधि र औषधीहरु समेत उपलब्ध गराएको छ। काभ्रेमा आयुर्वेद स्वास्थ्य केन्द्र बनेपामा रहेको छ भने धुलिखेल नगरपालिका, पाँचखाल नगरपालिका, नमोबुद्ध नगरपालिका, रोशी गाउँपालिकामा र भुम्लु गाउँपालिकामा आयुर्वेद आौषधालय रहेको छ। काभ्रेमा ४ वटा नागरिक आयुर्वेद स्वास्थ्य केन्द्र रहेका छन्। मण्डनदेउपुर र पनौती नगरपालिका तथा भुम्लु र बेथानचोक गाउँपालिकामा नागरिक आयुर्वेद स्वास्थ्य केन्द्र रहेका छन्।

कार्यक्रमका अवसरमा उपस्थित सञ्चारकर्मी तथा बनेपा नगरपालिकाका प्रमुख शन्तिरत्न शाक्य लगायत अतिथिहरुको स्वास्थ्य परिक्षण पनि  गरिएको थियो।


प्रतिक्रिया दिनुहोस