बालमैत्री नगर घोषणाको तयारीमा नमोबुद्ध नगरपालिका

नौलो समाचार संवाददाता
२०७९ चैत्र २६, आईतबार मा प्रकाशित १०७२ पटक पढिएको

बालमैत्री नगर घोषणाको तयारीमा नमोबुद्ध नगरपालिका

चैत २६, काभ्रे। बालमैत्री नगर घोषणाको तयारीमा जुटेको नमोबुद्ध नगरपालिकाले अभियानलाई तिव्र बनाएको छ । लक्ष्य प्राप्तीको लागि नगरपालिकाले तिव्र रुपमा विभिन्न गतिविधी सञ्चालन गरेको हो।

बालमैत्री नगर घोषणाको तयारी स्वरुप नगरप्रमुख कुन्साङ लामा, प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद लम्साल, वडाअध्यक्षसहितको टोलीले नेपालको पहिलो बालमैत्री नगर सुनवल पुगेर बालमैत्री नगर घोषणाको तयारी, यसको दिगोपना लगायतका विविध पक्षबारे जानकारी लिएका थिए । सुनवलमा विभिन्न जानकारी लिएर फर्किएको टोलीले त्यस सम्बन्धित गतिविधीलाई तिव्रता दिएको नगरपालिकाको महिला, बालबालिका तथा समाज कल्याण उपशाखा प्रमुख तारादेवी सुनुवारले जानकारी दिइन् । उनका अनुसार, फर्किए लगत्तै नगरपालिका स्तरीय बाल सञ्जालको बैठक बसेर विभिन्न कार्यक्रम तय गरिएका छन् । सबै विद्यालयमा बालमैत्री सम्पर्क शिक्षक तोकिएको र ११ वटा वडामा बालमैत्री वडा समिति र बाल अधिकार वडा समिति पुनर्गठन भइसकेका छन् ।

नगरपालिकाले हालै ४० वटा सामुदायिक विद्यालय र ६ वटा संस्थागत विद्यालयमा बालमैत्री सूचकहरुको अनुगमन समेत गरेको छ । शिक्षासंग सम्बन्धित सूचकको अवस्थाबारे सबै विद्यालयमा अनुगमन गरिएको शिक्षा शाखा प्रमुख बुद्धिराज अर्यालले जानकारी दिए । अवस्था पत्ता लागेपछि सूधारको लागि योजना निर्माण गरिने पनि उनले जानकारी दिए ।

नगरपालिकाले आइतबार नगरका सामुदायिक विद्यालयका बालमैत्री शिक्षक र नगरका कर्मचारीलाई बालमैत्री अभियान बारेमा अभिमुखिकरण सञ्चालन गरेको छ । चैत्र २७ गते जनप्रतिनिधी र वडा सचिवलाई बालमैत्री अभियानबारे अभिमुखिकरण गर्ने कार्यक्रम रहेको छ । बालमैत्री स्थानीय शासनका विज्ञ समेत रहेका नेपाल सरकारका पूर्व सचिव रेश्मीराज पाण्डे लगायतले कार्यपत्र प्रस्तुत गरेका थिए ।

बालमैत्री नगर घोषणाका लागि नगरपालिकाको राजनीतिक र प्रशासनिक नेतृत्वले पनि तदारुकता देखाएका छन् । नगर प्रमुख कुनसाङ लामा, उपप्रमुख रत्नबहादुर लामा, वडाअध्यक्ष, कार्यपालिका सदस्यहरुले समेत यसमा तदारुकता लिदै बालमैत्री नगर घोषणाको लागि आवस्यक सूचक पुरा गर्न सबै सरोकारवालाहरु लाग्नुपर्ने बताएका छन् ।

बालमैत्री स्थानीय तह घोषणाको लागि बाल बचाउ, बाल संरक्षण, बाल विकास, बाल सहभागिता, संस्थागत सहभागिता सम्बन्धी ५१ वटा सूचकहरु पुरा गरेको हुनुपर्छ । आइतबार अभिमुखिकरण कार्यक्रम उद्धघाटन गर्दै नगर उपप्रमुख रत्नबहादुर लामाले बालमैत्री अभियानलाई सबै सरोकारवालाको सहयोगले सफल बनाउने अठोट व्यक्त गरे । प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद लम्सालले अभियान अन्तर्गत विभिन्न गतिविधी सञ्चालन गरिएको भन्दै सबै सरोकारवालाको उत्तिकै सहयोग आवस्यक भएको बताए ।


प्रतिक्रिया दिनुहोस