विद्यार्थी नभएपछि केही शैक्षिक कार्यक्रम बन्द तयारीमा काठमाडौँ विश्वविद्यालय

नौलो समाचार संवाददाता
२०७९ चैत्र २८, मंगलबार मा प्रकाशित १६५९ पटक पढिएको

विद्यार्थी नभएपछि केही शैक्षिक कार्यक्रम बन्द तयारीमा काठमाडौँ विश्वविद्यालय

चैत २८, काभ्रे। काठमाडौँ विश्वविद्यालयले केही शैक्षिक कार्यक्रम बन्द गर्ने तयारी गरेको छ।

विद्यार्थी अभावका कारण देखाउदै विश्वविद्यालयले केहि शैक्षिक कार्यक्रम बन्द गर्ने जानकारी दिए पनि कुन-कुन कार्यक्रम बन्द गर्ने भन्ने केयूले खुलाएको छैन।

सोमबार काठमाडौँ विश्वविद्यालय र शिक्षा पत्रकार सञ्जाल नेपाल (इजोन) को सहकार्यमा आयोजित कार्यक्रममा केयू उपकुलपति प्रा. डा. भोला थापाले विद्यार्थी कम भएका कार्यक्रम स्थगित गर्ने जानकारी दिनुभयो। विद्यार्थी ल्याउने बहानामा लोकप्रिय कार्यक्रम जथाभावी विस्तार गर्दै लाने पक्षमा केयु नरहेको बताउदै प्रा. डा. थापाले विद्यार्थी कम भएका शैक्षिक कार्यक्रम भने फेजआउट गर्दै लैजाने उल्लेख गर्नुभयो।

विश्वविद्यालयका अनुसार २०० भन्दा बढी शैक्षिक कार्यक्रममा कुल कोटाको ३० प्रतिशत खाली छ।

केयुका अनुसार बीएमएस शैक्षिक कार्यक्रमको लागि तोकिएको ३० सिटमध्ये २२ सिटमा भर्ना भएका छन् भने ८ सिट रिक्त छ। बीवाइएसडब्लुको २४ मध्ये २२ सिट रिक्त छ। एमएमएसमा २० मध्ये १२ सिट रिक्त छ।

बीए बुद्धिस्ट स्टडिजमा ३० मध्ये चार सिटमात्र पूरा भएको छ । पीजीडी इन लिडरसिप एण्ड म्यानेजमेन्टमा ३० मध्ये १६ सिट रिक्त छ । एक वर्षे एमएड इन इएलटीमा १५ मध्ये १२ सिट खाली छ ।

बीबीए (एनसीएम) मा १२० मध्ये ७८ सिटमात्र भरिएको छ । बीबीआईएसको ४० मध्ये २६ सिटमा भर्ना भएका छन् । त्यस्तै बीएस्सी मिडवाइफरीमा २० मध्ये १३ सिट रिक्त छ । बीएस्सी नर्सिङ (सीओएमएस)मा ४० मध्ये १७ सिट रिक्त छ । बीएस्सी नर्सिङ (एनजीएमसी) मा २० मध्ये १८ सिट रिक्त छ । बीडीएस तथा एमबीबीएसमा पनि यस्तै अवस्था छ ।

नेपालमा गुणस्तरीय शैक्षिक कार्यक्रमहरु हुँदा हुँदै पनि पर्याप्त प्रचार-प्रसार नहुँदा विद्यार्थीहरु केयुमा भएकै शैक्षिक कार्यक्रम अध्ययन गर्न विदेशिने क्रम बढेको केयू भर्ना निर्देशनालयका सहनिर्देशक ब्रजेश मिश्रले बताउनुभयो।


प्रतिक्रिया दिनुहोस