गुम्बाको पैसा हिनामिना गरेको आरोपमा भुम्लु गाउँपालिकामा २ जना पक्राउ

नौलो समाचार संवाददाता
२०८० बैशाख ५, मंगलबार मा प्रकाशित ३०६ पटक पढिएको
गुम्बाको पैसा हिनामिना गरेको आरोपमा भुम्लु गाउँपालिकामा २ जना पक्राउ

बैशाख ५, काभ्रे। भुम्लु गाउँपालिका-५ मुलाबारीमा रहेको होदसल धोङाग क्षोइलिङ ताम्सालिङ गुम्बा व्यवस्थापन तथा पुनर्निर्माण समितिका अध्यक्ष डुक्मा दोर्जे लामा र तुलसी तामाङलाई प्रहरीले पक्राउ गरेको छ। उनीहरुलाइ किर्ते हस्ताक्षर गरी ५ लाख रुपैयाँ हिनामिना गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो।

तुलसी तामाङ गाउँपालिका अध्यक्षका स्वकीय समेत हुन् । पक्राउ परेकाहरुलाई किर्ते र ठगी अपराधमा संलग्न भएको अभियोगमा प्रहरीले सरकारी वकिल कार्यालयमा पेश गरेको छ । सरकारी वकिल कार्यालयले अनुसन्धान गरिरहेको बताएको छ । सरकारी वकिलको कार्यालयले अनुसन्धान सम्पन्न गरेर जिल्ला अदालतमा पेश गर्ने प्राबधान रहेको छ।

केहि समय अघि गाउँपालिकाले सोही वडाका वडा अध्यक्ष अचम्म मोक्तानको संयोजकत्वमा छानबिन समिति समेत गठन गरेको थियो । छानबिन समितिले प्रतिवेदन गाउँपालिकामा बुझाइसकेको छ ।

गुम्बा व्यवस्थापन तथा पुनर्निर्माण समितिको अध्यक्षमा डुक्मा दोर्जे लामा, सचिवमा अमृतकुमार लामा, कोषाध्यक्षमा अनिता गुरुङ, सदस्यहरू मठराम तामाङ, शर्मिला तामाङ, मनमाया तामाङ र भोजबहादुर तामाङ लामा थिए ।

भूकम्प पुनर्निर्माण प्राधिकरणबाट ७० प्रतिशत र उपभोक्ता समितिबाट ३० प्रतिशत व्यहोर्ने गरी करिब ८० लाखमा गुम्बा पुनर्निर्माण भएको थियो । गुम्बा निर्माण सम्पन्नपछि पाँच लाख रकम बचेको थियो । त्यही रकम हिनामिना गरिएको आरोप लगाईएको छ ।


प्रतिक्रिया दिनुहोस