बेथानचोक कामीडाँडामा निर्मित विद्यालय भवन समुदायलाई हस्तान्तरण

नौलो समाचार संवाददाता
२०८० बैशाख १३, बुधबार मा प्रकाशित ३५२ पटक पढिएको

बेथानचोक कामीडाँडामा निर्मित विद्यालय भवन समुदायलाई हस्तान्तरण

बैशाख १३, काभ्रे। बेथानचोक गाउँपालिका वडा नं. ५ स्थित काँमिडाँडामा निर्मित कपेर महांकाल आधारभूत विद्यालयको पक्कि भवन समुदायलाई हस्तान्तरण गरिएको छ।

लग्जम्वर्गको बालबालिका र महिलाको क्षेत्रमा काम गर्ने संस्था ए.इ.आईं.एन.को सहयोगमा १ करोड १५ लाखको लागत र ग्रामिण विकास संस्था (एसोसियसन फर रुरल डिभालपमेण्ट, ए.आर.डी) को समन्वयमा निर्मित भवन एक कार्यक्रम बीच बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले उद्घाटन गर्नुभयो । सो भवन सम्पन्न गर्ने क्रममा रंगरोगन र फर्निचर लगायतका संरचनामा बेथानचोक गाउँपालिकाले ५ लाख रकम दिएको थियो ।

भवनको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष भगवान अधिकारीले सेवा र सदभावका लागि ए.इ.आईं.एन. र एआरडीलाई धन्यवाद दिदैं यस प्रकारको साथ, सदभाव र सहयोग निरन्तर रहने विश्वास व्यक्त गर्नुभयो । गाउँपालिका विकास निर्माणका लागि दातृ संघ संस्थाहरुसँग सहकार्य गर्दै अघि बढ्ने बताउँदै उहाँले विद्यालय निर्माण जस्तो उन्नत र प्रशंनीय कर्मले व्यक्ति, समाज र सिंगो पालिका नै लाभान्वित हुने बताउनुभयो । सामाजिक सञ्जालमा नकारात्मक कुरा लेखेर अरुको लागि उर्जाशील समय व्यतित गर्नुभन्दा राम्रा काम गर्दै समाज रुपान्तरणमा टेवा पु¥याउन युवाहरुलाई आग्रह गर्नुभयो । शिक्षकहरुलाई लक्षित गर्दै अध्यक्ष अधिकारीले भन्नुभयो, “पेशा व्यवसायलाई आधुनिकिकरण गर्दै शिक्षा प्रदान गर्ने कार्यमा कुनै कञ्जुस्याई नगर्नुहोला ।” शिक्षक, अभिभावक र व्यवस्थापन समितिले गम्भीर भएर लाग्ने हो भने सामुदायिक विद्यालय कुनै दृष्टिकोणबाट कमी नभएको बताउनु भयो ।

यस्तै वडा नं. ५ का अध्यक्ष राजकुमार वाइबाले विद्यालय भवन जीर्ण हुँदा शिक्षण सिकाइमा असर परेको बताउँदै नयाँ भवन बनेसँगै उपलब्धी हासिल हुनेमा विश्वास व्यक्त गर्नुभयो । हाल विद्यार्थीहरुमा विद्यालय छोड्ने समस्या धेरै भएकाले नयाँ भवन बनेसँगै अभिभावकले विश्वास गर्ने शैक्षिक वातावरण बनाउन उहाँले आग्रह गर्नुभयो ।

लग्जम्वर्गको बालबालिका र महिलाको क्षेत्रमा काम गर्ने संस्था ए.इ.आईं.एन.की कार्यकारी निर्देशक फ्राङकोइसे बिन्सफेल्डले भुकम्पपछि नेपालका विद्यालयका भवनमा क्षति पुगेको स्मरण गर्दै आफूहरुले यस भेगमा आएर विद्यालय बनाउन सकेकोमा खुशी व्यक्त गर्नुभयो । भावी दिनमा विद्यालयको संरक्षण र शैक्षिक स्तरउन्नतिमा समुदायले विशेष भूमिका खेल्नेमा उहाँले विश्वास व्यक्त गर्नुभयो ।

नेपाल सरकारको मापदण्ड अनुसार बनेको सो भवन कूल २ तलाको रहेको छ । भवनमा ६ वटा कोठा रहेको र तल्लो तला अपाङ्गमैत्री संरचनामा निर्माण भएको एआरडीका कार्यकारी निर्देशक डिएन तिमल्सिनाले जानकारी दिनु भयो । निर्देशक तिमल्सिनाले समयमै विद्यालय भवन निर्माण सम्पन्न गर्न सहयोग पु¥याउनु हुने सबैलाई धन्यवाद दिँदै भावि दिनमा ए.इ.आईं.एन.सँग मिलेर थप कार्यक्रम गर्दै लाने बताउनु भयो । कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष भिमबहादुर लामाले भवन निर्माण भएसँगै त्यस भेगको शिक्षा क्षेत्रमा परिवर्तन आउने विश्वास राख्नु भयो ।


प्रतिक्रिया दिनुहोस