दोस्रो जनआन्दोलनका घाइते जिउँदो सहिद मुकेश कायस्थको निधन

नौलो समाचार संवाददाता
२०८० बैशाख २९, शुक्रबार मा प्रकाशित ८८ पटक पढिएको
दोस्रो जनआन्दोलनका घाइते जिउँदो सहिद मुकेश कायस्थको निधन

बैशाख २७,काभ्रे। दोस्रो जनआन्दोलनका घाइते जिउँदो काभ्रे बनेपाका सहिद मुकेश कायस्थको निधन भएको छ।

उपचारका क्रममा बुधबार साँझ ७ : ३० बजे उहाँको निधन भएको मुकेश फाउन्डेसनका अध्यक्ष हिरा शर्मा नेपालले जानकारी दिनुभयो।

नेपालका अनुसार मुकेश केहि दिनदेखि बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचाररत हुनुहुन्थ्यो। १७ वर्षदेखि ‘जिउँदो सहिद’का रूपमा रहेका मुकेशको ३२ वर्षको उमेरमा निधन भएको हो।

२०६२ चैत २७ गतेको आन्दोलनमा मुकेशको कञ्चटमा गोली लागेको थियो । गोली लाग्दा मुकेशको उमेर १४ वर्षको मात्र थियो ।

सुरक्षाकर्मीले चलाएको गोली लागेर घाइते भएका मुकेश सोही दिनदेखि ओछ्यानमा पर्नुभएको थियो।

निरन्तरको स्याहार र उपचारपछि देब्रे हात चलाउने, आमा भन्ने, हाँस्ने, गिलो खाने कुरा खाने र ह्विलचियरमा अडिन सक्नेसम्म भएका मुकेश २०७५ असारमा अचानक बिरामी परेपछि पुरानै अर्धचेत अवस्थामा पुग्नुभएको थियो।

उहाँको बनेपा नगर परिसरमा श्रद्दान्जली सभा पछी उच्च सम्मानका साथ २८ गते बिहिबार अन्त्येष्टि गरिएको छ।

सरकारले मुकेशको उपचार खर्च, १५ हजार मासिक भत्ता, एक सुसारेको लागि ६ हजार २ सय भत्ता र एक नर्स नियमित उपलब्ध गराउँदै आएको थियो।

मुकेशलाई २०७८ सालमा तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली संयोजक रहेको लोकतन्त्रका योद्धा, अभिलेखीकरण तथा सम्मान समितिले जनआन्दोलनमा खेलेको योगदानको उच्च मूल्यांकन गर्दै ‘लोकतन्त्रका योद्धा’ सम्मान प्रदान गरेको थियो।


प्रतिक्रिया दिनुहोस