विदेशमा ६ महिना काम गरेर फर्किएकाले मात्र २ वटा फोन ल्याउन पाउने

नौलो समाचार संवाददाता
२०८० बैशाख ३१, आईतबार मा प्रकाशित २२१ पटक पढिएको
विदेशमा ६ महिना काम गरेर फर्किएकाले मात्र २ वटा फोन ल्याउन पाउने

बैशाख ३१,काठमाडौं। वैदेशिक रोजगारीमा छ महिनासम्म काम गरेर फर्किएका नेपालीले मात्रै दुई वटा मोबाइल फोन ल्याउन पाउने भएका छन्।

भन्सार विभागले आज एक सूचना जारी गर्दै श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएको छ महिना पूरा भएकाले मात्रै दुई वटा मोबाइल फोन ल्याउन पाउने जनाएको हो । विभागका निर्देशक पुण्यविक्रम खड्काले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका नेपालीले एउटा चलाइरहेको र एउटा ‘सिलप्याक’ वा दुवै चलाइरहेको मोबाइल ल्याउन पाउने बताउनुभयो ।

उहाँका अनुसार अध्ययन तथा अन्य प्रयोजनका लागि विदेशिएका नेपालीले भने एक थानमात्रै माेबाइल ल्याउन पाउनेछन्। यही वैशाख २६ गते बसेको मन्त्रिपरिषद्को बैठकले याे निर्णय गरेको थियो ।

यात्रुहरूले आफ्नो साथमा ल्याउन र लैजान पाउने निजी प्रयोगका मालवस्तुसम्बन्धी आदेश २०७७ मा विदेशबाट फर्कने यात्रुले आफूले प्रयोग गरिरहेको मोबाइल फोन थान एक महसुल नतिरी ल्याउन पाउने व्यवस्था रहेको छ ।

त्यही व्यवस्थाअनुसार नेपाल दूरसञ्चार प्राधिकरणले जेठ १ गतेदेखि अवैध फोन नियन्त्रण गर्ने प्रणाली एमडीएमएस लागू गर्दैछ । त्याे फोन नेपाल दूरसञ्चार प्राधिकरणका प्रणालीमा व्यक्ति स्वयंले अनलाइन माध्यमबाट दर्ता गर्नुपर्ने भन्सार कार्यालयले जनाएको छ । दर्ताका लागि राहदानी वा नागरिकता र विदेश जाँदा र फर्किँदा देखिने राहादानीको पृष्ठ वा बोर्डिङ पास अपलोड गर्नुपर्नेछ हुन्छ ।

यसअघि गएकाे पुस १५ गतेदेखि प्राधिकरणले अवैध फोन नियन्त्रण गर्ने प्रविधि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू गर्ने तयारी गरेको थियो । प्राधिकरणले याे प्रणाली लागू गर्ने तयारी गरेकामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनमा तत्कालका लागि याे काम रोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस