यस्ता छन्, पनौतीको सामुदायिक साकोस लुटपाट गर्ने ४ जना, साढे पाँच लाख नगदसहित हतियार बरामद

नौलो समाचार संवाददाता
२०८० जेष्ठ २, मंगलबार मा प्रकाशित २७८४ पटक पढिएको

यस्ता छन्, पनौतीको सामुदायिक साकोस लुटपाट गर्ने ४ जना, साढे पाँच लाख नगदसहित हतियार बरामद

जेठ २, काभ्रे। पनौती नगरपालिका वडा नं -४ मा रहेको सामुदायिक बचत तथा ऋण सहकारी संस्थामा चोरीमा संलग्न ४ जना पक्राउ परेका छन्।

आज मंगलबार जिल्ला प्रहरी कार्यालय काभ्रेले सामुदायिक सहकारीमा चोरी तथा लुटपाटमा संलग्न रहेको आरोपमा उनीहरुलाई सार्वजनिक गरेको हो। सहकारीका सुरक्षा गार्डलाई नियन्त्रणमा लिएर उनीहरुले लुटपात गरेका थिए।

गत बैशाख १९ गते राति १ बजे सामुदायिक साकोसको मेन गेटको ताल्चा फोडेर ३२ लाख ३१ हजार ७ सय ४५ रुपैयाँ चोरी गरी उनीहरु फरार भएका थिए। चोरीमा संलग्न ६ जनामध्ये ४ जनालाई काठमाडौं र मकवानपुरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

पक्राउ परेको चारै जना मकवानपुर जिल्लाका हुन्। उनीहरुलाई काठमाडौं र मकवानपुर जिल्लाको विभिन्न स्थानबाट पक्राउ गरिएको काभ्रेका प्रहरी प्रमुख एसपी भाग्येन्द्रपुरुष ढकालले जानकारी दिनुभयो।

पक्राउ पर्नेमा मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ५ का २४ बर्षीय अमृत थिङ (लामा), सोही ठाउँका २९ वर्षीय गम्भीर भनिने सोमलाल थिङ, वडा नम्बर ५ फाखेलका ३० बर्षीय अशोक रुम्बा र सोही ठाउँका ३५ बर्षीय अगबर लामा रहेका छन्।

अमृत र सोमलाल काठमाडौंबाट पक्राउ परेका हुन् । अशोक र अगरलाई फाखेलबाटै नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। उनीहरुको साथबाट ५ लाख ४५ हजार रुपैयाँ नगद, भरुवा बन्दुक १ थान र सहकारी चोरी गर्दा प्रयोग भएका सामग्री बरामद भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी ढुण्डीराज न्यौपानेले बताउनुभयो।

उनीहरुलाई आजै जिल्ला अदालत काभ्रेबाट अनुसन्धानका लागि ७ दिनको म्याद थप गरिएको छ।

उनीहरुको खोजीका लागि जिल्ला प्रहरी कार्यालय धुलिखेलका डिएसपी न्यौपाने र ईलाका प्रहरी कार्यालय बनेपाका डिएसपी रेशम बोहरा नेतृत्वको टोली परिचालित भएको थियो।

सहकारी लुटपाटमा संलग्न पक्राउ परेपछि सञ्चालक समितिका अध्यक्ष प्रकाश बञ्जराले नेपाल प्रहरीलाई धन्यवाद दिँदै संलग्न अन्य ब्यक्तिपनि छिट्टै पक्राउ पर्नेमा आशावादी रहेको बताउनुभयो।

प्रहरीका अनुसार पक्राउ परेकाहरू मध्ये २ जना यसअघि पनि सहकारी लुटपाटको मुद्दामा सजाय भोगिसकेको प्रहरी अनुसन्धानबाट खुलेको छ।


प्रतिक्रिया दिनुहोस