बनेपाको होटलमा चोरी गर्ने धुलिखेलका एक युवक पक्राउ

नौलो समाचार संवाददाता
२०८० जेष्ठ ४, बिहिबार मा प्रकाशित १४२६ पटक पढिएको

बनेपाको होटलमा चोरी गर्ने धुलिखेलका एक युवक पक्राउ

जेठ ४, काभ्रे। बनेपा नगरपालिका वडा नम्बर ६ मा रहेको हाई भ्यु रिसोर्ट होटलमा चोरी गरेको आरोपमा धुलिखेलका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धुलिखेल नगरपालिका-३ का २२ वर्षीय अमृत तामाङ रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

प्रहरीका अनुसार, बनेपा नगरपालिका-६ का हरिचन्द्र पोखरेलले संचालन गरेको हाई भ्यु रिसोर्ट होटलमा यही जेठ १ गते कोही नभएको अवस्थामा रिसोर्टबाट यूएसए, युरो र भियतनामलगायत देशका मुद्रा ५ हजार, भारतीय रुपैयाँ २० हजार, नेपाली नगद ५० हजार, विभिन्न आकारका बुद्धमूर्तिहरु, कम्युटर २ थान, आई प्याड २ थानलगायत सामान चोरी भएको थियो।

होटल संचालक पोखरेलले ईलाका प्रहरी कार्यालय बनेपा काभ्रेमा दिएको निवदेनको आधारमा जिल्ला प्रहरी कार्यालय काभ्रे र इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको टोलीले तामाङलाई मंगलबार राति ११ बजे पक्राउ गरेको हो।

प्रहरीका अनुसार, प्रारम्भिक सोधपुछको क्रममा अमृतले आफु लगायत २ जना भई चोरी गरेको र उक्त चोरी गरेको सामानहरु बनेपा नगरपालिका वडा नम्बर ६ को जंगलमा लुकाएर राखेको बताएका हुन्। अमृतले दिएको विवरणको आधारमा जंगलबाट पाल्देन लामाको मूर्ति २ थान, गुरु रिम्पोछेको मूर्ति ३ थान, हरियो तारा भएको मूर्ति १ थान, मेडिसिन बुद्ध मूर्ति १ थान, सेतो ताराको मूर्ति थान १ थान, सरस्वतीको मूर्ति १ थान, लोकेश्वरको मूर्ति १ थान, लाफिङ्ग बुद्धको मूर्ति १ थान, तामाको माला तथा सामानहरु राख्ने सानो बाकस थान १, लगायत सामान बरामद गरिएको छ।

पक्राउ अभियुक्तलाई बुधबारनै जिल्ला अदालतबाट ७ दिन को म्याद लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।


प्रतिक्रिया दिनुहोस