पाँचखाल-१२ को झिकु खोलामा बन्दैको गरेको पक्की पुल भाँचियो

भत्काएर नयाँ बनाउन स्थानीयको माग
नौलो समाचार संवाददाता
२०८० जेष्ठ ९, मंगलबार मा प्रकाशित २०१७ पटक पढिएको

पाँचखाल-१२ को झिकु खोलामा बन्दैको गरेको पक्की पुल भाँचियो

जेठ ९, काभ्रे। पाँचखाल नगरपालिका–१२ नागबेलीको झिकु खोलामा बन्दाबन्दैको पक्की पुल भाँचिएको छ।

निर्माण व्यवसायीको लापर्बाहीका कारण बनिनसक्दै पुल भाँचिएपछि उक्त पुल भत्काएर पुनःनिर्माण गर्न स्थानीयले माग गरेका छन्।

६ वर्षअघि चन्द्रा एन्ड वसन्त एनएम जेभीले ४ करोड ५० लाख रुपैयाँमा करिब एक वर्षको अवधिमा निर्माण सक्ने गरी सडक डिभिजन कार्यालय भक्तपुरमार्फत ठेक्का लिई सुरु गरेको थियो। स्थानीयले पुल निर्माणमा ढिलाइ गरी अलपत्र तथा लापर्बाहीका कारण खेतमा बाढी पस्दा हजारौँ रोपनी डुबानमा परेको र क्षतिपूर्तिसमेतको माग गर्न थालेका छन् । निर्माण पक्षले बीचबाट चर्किएर भाँचिएको त्यो पुल प्लास्टरमार्फत टाल्न खोजिएको प्रष्ट देखिन्छ।

४० मिटर लम्बाइको पुल भाँचिएपछि आज मंगलबार स्थलगत निरीक्षण गर्नुभएका पाँचखालका मेयर महेश खरेलले पुल पूरै भत्काएर पुनः बनाउनुपर्ने देखिएको बताउनुभयो। भाँचिएर जीर्ण बनेको पुलमा भोलि जनधनको क्षति हुने भएकाले पनि प्राविधिकको सल्लाहबमोजिम पुलको पुनःनिर्माण गर्नुपर्ने देखिएको उहाँले बताउनुभयो।

समयमै पुल नबन्दा स्थानीयले निकै समस्या भोग्नुपरेको १२ नम्बरका वडाध्यक्ष ज्ञानबहादुर दनुवारले बताउनुभयो। उहाँका अनुसार वर्षायाममा नजिकैको आजाद माध्यमिक विद्यालयमा पठनपाठन गर्ने विद्यार्थी तथा त्यस भेगमा उत्पादन भएको तरकारी बजार लैजान समस्या छ।

गणेश दनुवारले बाढीकै खोलामा एकतर्फी पुलको ढलान गरिएको भागले पानीको बहाव त्यहाँ ठोक्किएर बर्सेनि स्थानीयको खेत नै बगाएको बताउनुभयो। पुल निर्माण सम्पन्न भएपछि पाँचखालका स्थानीयसँगै तेमाल र चौँरी देउराली गाउँपालिका तथा रामेछापको केही पालिकामा जान निकै सहजता हुन्छ। -रासस


प्रतिक्रिया दिनुहोस