बालकृष्ण खाँणलाई ठगी, लिखत कीर्ते, राज्यविरुद्धको कसूर र संगठित अपराधको मुद्दा

नौलो समाचार संवाददाता
२०८० जेष्ठ १०, बुधबार मा प्रकाशित १३७२ पटक पढिएको

बालकृष्ण खाँणलाई ठगी, लिखत कीर्ते, राज्यविरुद्धको कसूर र संगठित अपराधको मुद्दा

जेठ १०, काठमाडाैं। नक्कली शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाँणविरुद्ध विभिन्न ५ कसूरमा अभियोगपत्र दर्ता भएको छ ।

खाँणसहित ३० जनाविरुद्ध सरकारी वकिलको कार्यालयले बुधवार जिल्ला अदालत काठमाडौंमा अभियोगपत्र दर्ता गराएको हो ।

खाँणलाई १ नम्बरको प्रतिवादी बनाई मुद्दा दायर गरिएको छ । नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाई अमेरिका पठाइदिने भनी करोडौं उठाउन लगाई ठगी गरी लाभ लिएकाले मुलुकी अपराध संहिता २०७४ को दफा २४९ को उपदफा (१) र (२) बमोजिम ठगीको कसूर गरेको पुष्टि हुन आएको आरोपपत्रमा उल्लेख छ ।

नक्कली परिचयपत्र बनाउन सघाएकाले सरकारी लिखत कीर्तेको कसूर गरेको पुष्टि हुन आएको आरोप पत्रमा उल्लेख छ । खाँण वैशाख २७ गते काठमाडौंबाट पक्राउ परेका थिए ।

नेपालीलाई नक्कली शरणार्थी बनाएर नेपालको स्वाभिमान तथा अन्तर्राष्ट्रिय छविमा आँच आउने काम गरेकाले राज्य विरुद्धको कसूर गरेको पुष्टि हुने आरोप पत्रमा उल्लेख छ । खाँण विरुद्धको मुद्दा कमजोर बनाउन राजनीतिक दबाब परेको थियो ।

आपराधिक लाभका लागि रकम उठाउने कार्य गरी संगठित अपराध गरेकाले संगठित अपराधको कसूर गरेको अभियोग खाँणविरुद्ध लगाइएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा सरकारमा खाँण गृहमन्त्री थिए ।

सहायक जिल्ला न्यायाधिवक्ता दिनेश भट्टराईले ठगी, कीर्ते, राज्य विरुद्धको कसूर र संगठित अपराधको मुद्दा दायर गरिएको जानकारी दिए । बहालवाला सांसद टोपबहादुर रायमाझी, बहालवाला सचिव टेकनारायण पाण्डे लगायत ३० जनाविरुद्ध बुधवार आरोपपत्र दायर गरिएको छ ।


प्रतिक्रिया दिनुहोस