मण्डनदेउपुरको ऐतिहासिक महत्वको नर्वन्दा पाटी पुनःनिर्माणको काम सुरु

नौलो समाचार संवाददाता
२०८० जेष्ठ १९, शुक्रबार मा प्रकाशित ६२४ पटक पढिएको
मण्डनदेउपुरको ऐतिहासिक महत्वको नर्वन्दा पाटी पुनःनिर्माणको काम सुरु

जेठ १९, काभ्रे। मण्डनदेउपुर नगरपालिका वडा नम्बर-९ मा रहेको ऐतिहासिक महत्वको नर्वन्दा पाटी पुनःनिर्माणको काम शुरु भएको छ।

नगरप्रमुख टोकबहादुर वाईबाले आज (शुक्रबार) एक कार्यक्रमकाबीच पाटी पुनःनिर्माण शिलान्यास गर्नुभएको हो। पाटी पुनःनिर्माणको काम पुरात्व विभागको आर्थिक सहयोगमा थालिएको छ। चालु आर्थिक वर्षमा एक तल्ले निर्माण हुनेछ।

यो आर्थिक वर्षमा १५ लाख ६६ हजार ८५२ रुपैयाँ खर्च हुनेछ। अर्को आर्थिक वर्षमा पाटी पुनःनिर्माणको सम्पूर्ण काम सकिने निर्माणको जिम्मा पाएको पञ्चस्तम्भ कन्ट्रक्सन एण्ड कन्सल्टेनी प्रा.लिले जनाएको छ।

पाटी पुनःनिर्माण शिलान्यास कार्यक्रममा बोल्दै नगरप्रमुख वाईबाले पुरात्विक तथा सार्वजिक महत्वका सम्पत्ती संरक्षण गर्ने राज्यको कर्तब्य अनुसार नै पाटी पुनःनिर्माणको काम थालिएको बताउनुभयो।

नगरप्रमुख वाईबाले काम हुँदै गर्दा निर्माणको रेखदेख गर्न स्थानीयलाई आग्रह गर्नुभयो। उहाँले काम बिग्रिएपछि टिकाटिप्पणी गर्नुभन्दा हुँदै गर्दा कमीकमजोरी औल्याउन नगरबासीलाई आग्रह गर्नुभयो।

नगरका उपप्रमुख विष्णुमणी नेपालले निर्माण कम्पनीलाई गुणरस्तीय काम गर्न निर्देशन दिनुभयो। यो ऐतिहासिक पाटी  र पुरात्व महत्वको संरचना भएकोले यसको निर्माणमा कोही कसैले खेलाची गर्न नहुने उल्लेख गर्नुभयो।

वडा अध्यक्ष सिताराम श्रेष्ठले पाटी निर्माणपछि ब्यवस्थित ढंगले सञ्चालन गर्न छुट्टै समिति गठन गर्नुपर्नेमा जोड दिनुभयो। कार्यक्रममा शिक्षासेवी रामहरि नेपाल, कार्यपालिका सदस्य मैया तिवारी र सविना बिसुन्के, वडा सदस्य टेक बहादुर तामाङ र विष्णु प्रसाद नेपाल सहित स्थानीय शिक्षक, समाजसेवी तथा उपभोक्ता उपस्थिति थिए।

यो पाटी नेपाल बंशकी नर्वन्दा नाम गरेकी चेलीले निर्माण गरेको किम्बदन्ती पाइन्छ । यो पाटी कति वर्ष अघि निर्माण गरिएको थियो भन्ने यथार्थ मिती नभेटिएपनि कम्तीमा दुई सय वर्षभन्दा बढी भैसकेको बताइएको छ । २०७२ सालको भुकम्पकारण यो पाटी थप जीर्ण बनेको थियो ।

नगरपालिकाले जीर्ण रहेको विभिन्न मठमन्दिर तथा पाटी पुनःनिर्माणका लागि पुरात्व विभागमा प्रस्तावना बुझाइसकेको छ  बालुवा पाटी, रायोबारीको पाटीको पुनःनिर्माणका लागि पुरात्व विभागमा प्रस्तावना पेश गरिएको छ।


प्रतिक्रिया दिनुहोस