अत्यधिक गर्मी बढेपछि तराईका अधिकांश विद्यालय बन्द, तापक्रम ४२ डिग्री माथि पुगेपछि लू लाग्ने खतरा

नौलो समाचार संवाददाता
२०८० जेष्ठ १९, शुक्रबार मा प्रकाशित १२२७ पटक पढिएको
अत्यधिक गर्मी बढेपछि तराईका अधिकांश विद्यालय बन्द, तापक्रम ४२ डिग्री माथि पुगेपछि लू लाग्ने खतरा

जेठ १९, काठमाडौं। केही दिन यता अत्यधिक गर्मी बढेपछि तराईका अधिकांश पालिकाहरुले विद्यालय बिदा दिन थालेका छन्।

पूर्व मेचीदेखि पश्चिममा महेन्द्रनगरसम्मकै तराई क्षेत्रमा गर्मी अत्यधिक बढेको छ। त्यसैले यी क्षेत्रमा पर्ने अधिकांश स्थानीय तहले बर्खामा दिइने बिदामा मिलान गर्नेगरी धमाधम विद्यालय बिदा दिइरहेका छन्।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले तापक्रम ४० डिग्री सेल्सियस भन्दा बढी भएका ठाउँमा तातो हावा अर्थात लू लाग्ने खतरा रहेको भन्दै सावधानी अपनाउन सुझाव दिएको छ। विभागको सुझाव आउनुअघि नै धेरै स्थानीय तहले बिदाको घोषणा गरिसकेका थिए ।

नेपालको सबैभन्दा होचो स्थानमा रहेको झापाको कचनकवल गाउँपालिकाले जेठ १८ गतेदेखि २२ गतेसम्म बिदा दिएको छ। पालिकाकी शिक्षा शाखा प्रमुख मनिता बरालले अत्यधिक गर्मीले बालबालिकालाई समस्या भएपछि बिदा दिएको जानकारी दिइन्।

झापाका अधिकांश पालिकाले विद्यालय बिदा दिएका छन् । झापाकै अर्को मेचिनगर नगरपालिकाले पनि बिहीबार र शुक्रबार (१८ र १९ गते) बिदा छ । आइतबार मौसम हेरेर निर्णय हुने पालिकाका शिक्षा प्रमुख होमनाथ भण्डारीले बताए ।

मधेस प्रदेशको राजधानी रहेको जनकपुरधाम उपमहानरपालिकाले पनि जेठ १९ गतेदेखि २६ गतेसम्म आकस्मिक गर्मी बिदा दिएको छ । उपमहानगरपालिकाका सूचना अधिकारी उमाशंकर मल्लिकले भने ‘गर्मी धेरै छ । बालबालिका स्कूल आउँदा बाटोमा नै बेहोस हुने अवस्था आएपछि एक हप्ताको बिदा दिइएको छ ।’

जेठ १९ गतेदेखि २३ गतेसम्म बिदा दिएको सप्तरीको राजविराज नगरपालिकाले त्यसपछि तापक्रम नघटे बिहानी कक्ष चलाउने वा अन्य उपाय लगाउने तयारी गरिरहेको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख भोगेन्द्रप्रसाद यादवले जानकारी दिए ।

पर्साको ठोरी गाउँपालिकाले भने बिहानी कक्षा चलाउने निर्णय नै गरिसकेको छ । शिक्षा शाखा प्रमुख भुपाल कुमार जोशीले भने, ‘दिउँसो अत्यधिक गर्मी भएकोले आजैको बैठकले बिहान चलाउने निर्णय गरिएको छ । अब आइतबारदेखि बिहान ६ देखि १० बजेसम्म बिहान पढाइ हुन्छ ।’

रौतहटको राजपुर नगरपालिकाले जेठ २१ गतेदेखि २६ गतेसम्म बिदा दिएको पालिकाका शिक्षा प्रमुख एजाजुल हक खाँले जानकारी दिए । उनले भने, ‘अत्यधिक गर्मीले सबैभन्दा बढी बालबालिका प्रभावित भएका छन् । घरदेखि बाहिर निस्कन सक्ने अवस्था छैन । त्यसैले एक हप्ताको बिदा दिएका छौं ।’

चितवनको भरतपुर महानगरपालिकाले आइतबारदेखि एक हप्ताको बिदा दिएको छ ।

यस्तै नेपालगञ्जको नेपालगञ्ज उपमहानरपालिकाले आइतबारदेखि मंगलबारसम्म तीन दिन बिदा दिएको छ ।त्यस्तैगरी सरहाको लाहान नगरपालिका बाराको जीतपुर सिमरा, मोरङको बेलबारी नगरपालिका, सुन्दरहरैँचा नगरपालिका, उर्लाबारी नगरपालिका लगायतले पनि अत्यधिक गर्मीको कारण बिदा दिएको सूचना सार्वजनिक गरेको छ ।

मोरङ र सुनसरी, विराटनगरको तापक्रम ४२ डिग्रीसम्म पुगेको छ।

अत्यधिक गर्मी भएपछि अभिभावक, शिक्षकहरुसँगको सल्लाहमा केहि दिन बिदा दिने निर्णय गरिएको र त्यसपछि भने मौसम हेरेर निर्णय हुने बताए ।

सुनसरी, धरान, इटहरी उपमहानगरपालिकाले पनि पहिलोपटक गर्मी बढेपछि दुई दिनको बिदा दिएको छ । पालिकाले बिहीबार र शुक्रबार दुई दिन बिदा दिएको जनाएको छ ।

कतिपय विद्यालय टिनको छाना भएकोले पठनपाठन गर्न नसकिने र बालबालिका पनि गर्मीको कारण विरामी भएको भन्ने गुनासो आएपछि बिदा दिएको बताए ।

दुई दिनदेखि बढेको गर्मीका कारण सुनसरीका इनरुवा नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका, बराह नगरपालिकाले पनि विद्यालय बिदा दिएको छ ।


प्रतिक्रिया दिनुहोस