बालमैत्री नगर घोषणाको तयारीमा नमोबुद्ध नगर, योजना तर्जुमा गर्न बाल भेला

नौलो समाचार संवाददाता
२०८० जेष्ठ २०, शनिबार मा प्रकाशित १३४५ पटक पढिएको
बालमैत्री नगर घोषणाको तयारीमा नमोबुद्ध नगर, योजना तर्जुमा गर्न बाल भेला

जेठ २०, काभ्रे। आर्थिक बर्ष २०८०/८१ को योजना तर्जुमा गर्न नमोबुद्ध नगरपालिकामा बाल भेला गरिएको छ।

बालमैत्री नगर घोषणाको तयारीमा जुटेको नमोबुद्ध नगरपालिकाले बालबालिकाकै अर्थपूर्ण सहभागितामा योजना तर्जुमा गर्नको लागि भेला बोलाएको हो।

नगर प्रमुख कुनसाङ लामाको अध्यक्षतामा भएको कार्यक्रममा ११ माध्यमिक विद्यालय र ४ आधारभूत विद्यालयमा रहेका बाल क्लवका पदाधिकारी र प्रतिनिधीको सहभागिता छ। भेलामा सहभागी बालबालिकाले विभिन्न भेलामा छलफल गरेर बालमैत्री योजना, बजेट, कार्यक्रम, संरचनाका बारेमा छलफल गरी उपयुक्त योजना प्रस्ताव गरेका छन्। बाल अधिकारको क्षेत्रमा कार्यरत कृष्ण घिमिरेले सहजीकरण गर्नुभएको थियो।

नगर प्रमुख कुनसाङ लामाले नेतृत्व र व्यक्तित्व विकास गर्दै बालबालिकालाई मुलुकाको नेतृत्व गर्न सक्ने क्षमता बनाउनुपर्ने बताउनुभयो। उहाँले बालमैत्री अभियानबारे घर, परिवार, टोल, छिमेक, विद्यालय र समुदायमा सचेत गराउन बालबालिकालाई अनुरोध गर्दै अभियान सफल बनाउन नगरपालिकाले उपयुक्त कार्यक्रमसहित बजेट बिनियोजन गर्ने बताउनुभयो।

नगर उपप्रमुख रत्नबहादुर लामाले बालमैत्री नगर बनाउन नमोबुद्धले जमर्को गरेकोले बालबालिकाका योजना आगामी बजेटमा समेटिने प्रतिवद्धता जनाउनुभयो । समुदायस्तरमा पनि बालसमूह गठन गर्नुपर्नेमा जोड दिदै उपप्रमुख लामाले प्रशिक्षणहरु पनि चलाउनुपर्ने बताउनुभयो। नगर प्रवक्ता समेत रहनुभएका वडा नं ६ का अध्यक्ष टिकाबहादुर केसीले बजेट विनियोजनको लागि आफूहरु प्रतिवद्ध रहेको बताउनुभयो। बाल अधिकारको क्षेत्रमा कार्यरत, सुनवल बाल क्लव सञ्जालका पूर्व अध्यक्ष कृष्ण घिमिरेले बालमैत्री नगर घोषणाको लागि नमोबुद्धका जनप्रतिनिधीले देखाएको तदारुकता प्रशंसनीय भएको बताउनुभयो।

नमोबुद्धले अभियान अन्तर्गत विभिन्न गतिविधीलाई तिव्रता दिएको नगरपालिकाको महिला, बालबालिका तथा समाज कल्याण उपशाखा प्रमुख तारादेवी सुनुवारले जानकारी दिनुभयो। उहाँँका अनुसार, नमोबुद्ध नगरपालिकाको टोलीले नेपालको पहिलो बालमैत्री नगर सुनवल पुगेर बालमैत्री नगर घोषणाको तयारी, यसको दिगोपना लगायतका विविध पक्षबारे जानकारी लिएको थियो।

सबै विद्यालयमा बालमैत्री सम्पर्क शिक्षक तोकिएको र ११ वटा वडामा बालमैत्री वडा समिति र बाल अधिकार वडा समिति पुनर्गठन भइसकेका छन्। नगरपालिकाले हालै ४० सामुदायिक विद्यालय र ६ संस्थागत विद्यालयमा बालमैत्री सूचकहरुको अनुगमन समेत गरेको छ।

नगरपालिकाले सामुदायिक विद्यालयका जनप्रतिनिधी, बालमैत्री शिक्षक, बाल क्लव सञ्जाल, नगरका कर्मचारी, वडासचिवलाई बालमैत्री अभियान बारेमा अभिमुखिकरण गरिसकेको छ।
बालमैत्री स्थानीय तह घोषणाको लागि बाल बचाउ, बाल संरक्षण, बाल विकास, बाल सहभागिता, संस्थागत सहभागिता सम्बन्धी ५१ वटा सूचकहरु पुरा गरेको हुनुपर्छ।


प्रतिक्रिया दिनुहोस