बेथानचोकको वडा नं. ४ पनि अनिवार्य/निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा

नौलो समाचार संवाददाता
२०८० जेष्ठ ३१, बुधबार मा प्रकाशित १४७५ पटक पढिएको
बेथानचोकको वडा नं. ४ पनि अनिवार्य/निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा

जेठ ३१, काभ्रे। बेथानचोक गाउँपालिकाको ४ नं. वडा “अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा” भएको छ।

बुधबार चलाल गणेशस्थानमा आयोजित घोषणासभामा बेथानचोक गाउँपालिका अध्यक्ष भगवान अधिकारीले “अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा” भएको उद्घोष गर्नुभयो।

अध्यक्ष अधिकारीद्वारा जारी घोषणा पत्रमा भनिएको छः “काभ्रेपलाञ्चोक जिल्ला बेथानचोक गाउँपालिका ४ नं. वडा कार्यालयमार्फत मिति २०८० बैशाख १७ देखि जेष्ठ ११ गतेसम्म एक हजार छयालीस घरधुरीमा बालबालिकाको विवरण संकलन गर्दा प्रचलित कानून अनुसार चार वर्ष पूरा भई तेह्र वर्ष उमेर पूरा नभएका कुनै पनि बालबालिका विद्यालय बाहिर रहेको नपाईएकोले मिति २०८० जेष्ठ २९ गते सोमबार बसेको वडा समितिको निर्णय र वडा अध्यक्ष श्री कृष्ण बहादुर लामाज्यूको प्रस्ताव अनुसार आज मिति २०८० साल जेष्ठ ३१ गते बुधबारका दिन अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा गर्दछु ।” यस अघि अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा गर्न वडा अध्यक्ष कृष्ण लामाले प्रस्ताव गर्नु भएको थियो ।

सो घोषणा सभामा बोल्दै गाउँपालिका अध्यक्ष भगवान अधिकारीले अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा गर्न सहयोग पुर्याउनु हुने सबैलाई धन्यवाद व्यक्त गर्नुभयो । शिक्षा नैसर्गिक अधिकार भएकोले कोही पनि बञ्चित नुहुन भन्ने उद्देश्यका साथ सञ्चालित अनिवार्य तथा निःशुल्क शिक्षा गाउँपालिकामा लागू गरिएको र बाँकी वडाहरु पनि केही दिनभित्रै घोषणा हुने बताउनु भयो ।

कार्यक्रममा बोल्दै वडा नं. ४ का अध्यक्ष कृष्णबहादुर लामाले सामुदामा रहेको सबै बालिबालिकालाई शिक्षाको दायराभित्र ल्याउने नीतिअनुरुप वडाले नियमित काम गर्दै आइरुहेको र विद्यालयमा आधारित प्रारम्भिक बाल शिक्षा कै माध्यमबाट विद्यालय बाहिर रहेका बालबालिकालाई पनि कार्यक्रमले समेटने भएकोले सिकाईमा सुधार, प्रारम्भिक कक्षाहरुमा साक्षरता र आधारभूत शिक्षाको गुणस्तर वृद्धि गर्नका लागि नीति निर्माण र योजनामा सघाउने बताउनु भयो । उहाँले वडामा खोजपडताल गर्दा कुनै पनि बालबालिका विद्यालय शिक्षा भन्दा बाहिर नरहेकोले अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा गर्न सहज भएको बताउनु भयो । अब शिक्षण सिकाइलाई प्रभावकारी बनाउन जरुरी रहेको बताउनु भयो । कार्यक्रममा शिक्षा शाखा प्रमुख पुष्पा राईले बाँकी वडाहरुमा पनि काम भइरहेको र केही दिन भित्रै अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन पालिका घोषणा हुने बताउनु भयो ।

कार्यक्रममा वडा सदस्यहरु, तथ्यांक संकलकहरु, उपचारतात्मक शिक्षकका शिक्षिकाहरु, बाल सञ्जाल, बडास्तरीय बाल क्लब, विद्यालय प्रतिनिधि, वडा स्वास्थ्य इकाईका कर्मचारी, दलीय प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो । यो कार्यक्रम बेथानचोक गाउँपालिमा फागुन महिनादेखि लागू भएको थियो । यस अघि गाउँपालिकाको वडा नं. ३ अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा भइसकेको छ ।


प्रतिक्रिया दिनुहोस