पूर्वमन्त्री बालकृष्ण खाण र टोपबहादुर रायमाझीसहित १६ जनालाई जेल पठाउन आदेश

नौलो समाचार संवाददाता
२०८० अषाढ १, शुक्रबार मा प्रकाशित ११९६ पटक पढिएको
पूर्वमन्त्री बालकृष्ण खाण र टोपबहादुर रायमाझीसहित १६ जनालाई जेल पठाउन आदेश

असार १, काठमाडौं। नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणसहितका १६ प्रतिवादी पुर्पक्षका लागि कारागार चलान भएका छन्।

ठगी, संगठित अपराध, राष्ट्रहितविरुद्धको कसूर तथा लिखत कीर्तेसम्बन्धी मुद्दाको थुनछेक बहसपछि काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले शुक्रवार यस्तो आदेश दिएको छ।

अदालतको आदेशबाट दुईजना भने धरौटीमा रिहा भएका छन् । लक्ष्मी महर्जनलाई ५ लाख र टंक गुरुङलाई १० लाख धरौटीमा रिहा गरिएको छ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै चलेको ठगी धन्दामा संलग्न भएको आरोपमा पक्राउ परेका १८ र फरार रहेका १२ गरी ३० जनालाई प्रतिवादी बनाएर मुद्दा दायर भएको थियो । पक्राउ परेका १८ जनाको हकमा थुनछेक आदेश भएको हो ।

जिल्ला न्यायाधीश न्यौपानेको इजलासमा झण्डै २ साता (जेठ २१) देखि निरन्तर चलेको बहस शुक्रवार सकिएपछि थुनछेक आदेश आएको हो।

पुर्पक्षका लागि थुनामा जानेमा पूर्वमन्त्रीद्वय रायमाझी र खाँणका अलावा पूर्वसांसद आङटावा शेर्पा, शरणार्थी नेता टेकनाथ रिजाल, हज समितिका अध्यक्ष शमशेर मिया, नेपाल सरकारका निलम्बित सचिव टेकनारायण पाण्डे छन्।

यसैगरी गिरोहका योजनाकार तथा सदस्यहरू सानु भण्डारी, रामशरण केसी, गोविन्द चौधरी,इन्द्रजित राई, नरेन्द्र केसी, सन्देश शर्मा, सन्दीप रायमाझी, हरिभक्त महर्जन, केशव दुलाल, सागर राई पनि पुर्पक्षका लागि कारागार चलान भएका छन्।

आदेशका क्रममा न्यायाधीश न्यौपानेले प्रतिवादीहरूलाई उच्च अदालत जाने बाटो खुला रहेको उल्लेख गरेका थिए।


प्रतिक्रिया दिनुहोस