७औँ पटकको प्रयासमा मण्डनदेउपुरको नयाँ प्रशासनिक भवन प्राङ्गणमा रहेको मन्दिर सार्न सहमति

नौलो समाचार संवाददाता
२०८० अषाढ १, शुक्रबार मा प्रकाशित ३३३ पटक पढिएको
७औँ पटकको प्रयासमा मण्डनदेउपुरको नयाँ प्रशासनिक भवन प्राङ्गणमा रहेको मन्दिर सार्न सहमति

असार १, काभ्रे। मण्डनदेउपुर नगरपालिकाको नवनिर्मित प्रशासनिक भवन प्राङ्गणमा रहेको मनमति मन्दिर स्थानान्तरण गर्न सहमति जुटेको छ । नगरपालिका र मन्दिर उपभोक्ता समितिबीच सहमति भएको हो ।

मन्दिरको १२ आना पर्ती जग्गामा नगरपालिकाको कित्ता नम्बर १०२९ बाट ८ आना जग्गा थप गर्ने निर्णय भएको छ । यो निर्णयसंगै अब मनमति मन्दिरको नाममा २० आना जग्गा भएको छ । मन्दिर हाल साविककै क्षेत्रमा रहनेछ ।

खास गरी मन्दिर उपभोग गर्दै आएका दनुवार समुदायसंग भएको पटक पटकको छलफल र अन्तरक्रियापछि सहमति जुटेको हो । मन्दिरको रंगरोगन र मर्मतसम्भारका लागि नगरपालिकाले प्रत्येक वर्ष मन्दिर ब्यवस्थापन समितिलाई १ लाख ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय भएको छ । अहिले भैरहेको बाहेक अर्को एउटा मन्दिर निर्माण गरिनेछ । मन्दिर निर्माण पश्चात मनमतिको दुई वटा मन्दिर हुनेछ ।

प्रशासनिक भवनको पश्चिमपट्टीको सिमामा मन्दिरमा आउने भक्तजनका लागि शौचालय सहित सटर निर्माण गर्ने निर्णय भएको छ । त्यसैगरी प्रहरी चौकीको भवनका लागि छुट्याइएको जग्गाको सिमाना प्रशासनिक भवनको पछाडी पट्टी जोडिने गरी नगरपालिकाको जग्गाको तीन फिट र साँध जोडिएका जग्गाको तीन फिट गरी मन्दिरसम्म ६ फिटको सडक विस्तार गर्न साँध जोडिएका जग्गा धनीसंग साझेदारी गर्ने र मनमती मन्दिर परिसरमा एक थान सोलार बत्ति नगरपालिकाले जडान गर्ने निर्णय भएको नगरप्रमुख टोक बहादुर वाईबाले जानकारी दिनुभयो।

मनमती मन्दिर दनुवार समुदायको आस्थासंग जोडिएको मन्दिर हो । यो मन्दिरमा प्रत्येक फागुन पूर्मिणको दिन विशेष मेला लाग्ने गरेको मन्दिर ब्यवस्थापन समितिका सदस्य सुकमान राईले बताउनुभयो । दशैँको फुलपाती, अष्टमी, नवमीमा पूजा गरिनेछ । त्यस्तै अन्य चाडपर्वमा समेत पूजापाठ हुँदै आएको राईको भनाई छ ।

आजै राती मन्दिरमा विधिपूर्वक पूजाआजा गरेर भोलीसम्म पुरानो मन्दिरमा रहेको देवता नयाँ मन्दिरमा सार्ने र आइतबारबाट नगरपालिकाले पुरानो मन्दिर भएको क्षेत्र सम्याउने सहमति भएको छ ।

नगरप्रमुख वाईबाले प्रशासनिक भवन निर्माण थाले यता ७ औँ पटकको छलफलपछि मन्दिर स्थानान्तर गर्न सहमति जुटेको बताउनुभयो । ‘ढिलै भएपछि सहमति भएको छ । हाम्रो लागि यो एउटा सफलता हो । हामी विकासमा बल प्रयोग भन्दा पनि समझदारीका साथ अघि बढ्न चाहान्छाँै । उहाँहरुले राख्नु भएको माग नगरपालिकाले पुरा गर्नेछ । अर्को नयाँ मन्दिर पनि बनाउने छौँ । भक्तजनका लागि सतल निर्माण गरिनेछ । मठमन्दिरको संरक्षण गर्ने दायित्व नगरपालिकाको हो ।’ नगरप्रमुख वाईबाले भन्नुभयो ।

नगरप्रमुख वाईबा, प्रमुख प्रशासकीय अधिकृत डाक्टर लोक बहादुर लोप्चन, वडा नम्बर ७ का वडा अध्यक्ष विष्णु पौडेल सहितको उपस्थितिमा पुरानो मन्दिरको जग्गा नगरपालिकालाई दिन सहमति गरे बापत दनुवार समुदाय कदर पत्रद्वारा सम्मान गरिएको छ ।


प्रतिक्रिया दिनुहोस