तेमालका ब्लड क्यान्सर पिडित बालकलाई नेपाल तरुण दलको आर्थिक सहयोग

नौलो समाचार संवाददाता
२०८० अषाढ ३, आईतबार मा प्रकाशित ४८८ पटक पढिएको
तेमालका ब्लड क्यान्सर पिडित बालकलाई नेपाल तरुण दलको आर्थिक सहयोग

असार ३, काभ्रे। नेपाल तरुण दलले काभ्रे तेमालका ब्लड क्यान्सर पिडित बालकलाई आर्थिक सहयोग गरेको छ।

ब्लड क्यान्सर पिडित तेमाल गाउँपालिका वार्ड न.७ चापाखोरी कुरुवासका अनिलकुमार मोक्तान र शान्तिमाया तामाङको १० बर्षे छोरा अंकितकुमार मोक्तानलाई नेपाल तरुण दल अध्यक्ष विद्वान गुरुङले आर्थिक सहयोग हस्तान्तरण गर्नुभएको हो।

सिभिल अस्पताल मिनभवनमा उपचाररत अंकितकुमार मोक्तानलाई नेपाल तरुण दल काभ्रे तेमाल गाउँपालिका कार्यसमितिको नेतृत्वमा,नेपाल तरुण दल काभ्रेको जिल्ला अध्यक्ष सुजन लामाको सहजिकरणमा आज अस्पतालमा गएर आर्थिक सहयोग हस्तान्तरण गरिएको हो।

आर्थिक सहयोग हस्तान्तरण गर्दै नेपाल तरुण दल अध्यक्ष गुरुङले पीडितको बुवालाइ  नआत्तिन आग्रह गर्दै नेपाल सरकार र अस्पताल प्रशासनलाइ पनि उपचारमा सहयोगको लागि पहल गर्ने र देशभरिको तरुणहरुलाई पनि आग्रह गरिने कुरा बताउनुभएको छ ।

करिव ६ महिना पाटन अस्पतालमा उपचार गराउदा पनि रोग पत्ता नलागेपछी दुई महिना अगाडि सिभिल अस्पतालमा छोराको उपचार गर्न ल्याउदा ब्लड क्यान्सर भएको थाहा पाएर उपचार गराइरहेको बिरामीको बुवा अनिलकुमार मोक्तानले जानकारी दिनुभयो ।

सहयोग हस्तान्तरण कार्यक्रमा नेपाल तरुण दलको काभ्रेको विभिन्न तह र तप्कामा रहनुभएका तरुणहरुको उपस्थिती रहेको थियो।


प्रतिक्रिया दिनुहोस