नमोबुद्ध नगरमा ५५ जना मेलमिलापकर्तालाई आधारभूत तालिम

नौलो समाचार संवाददाता
२०८० अषाढ ५, मंगलबार मा प्रकाशित ५६६ पटक पढिएको
नमोबुद्ध नगरमा ५५ जना मेलमिलापकर्तालाई आधारभूत तालिम

असार ५, काभ्रे। नमोबुद्ध नगरपालिकाका ५५ जनालाई मेलमिलाप सम्बन्धी आधारभूत तालिम दिइएको छ।

नगरका ११ वटै वडाका ५ जनाका दरले ५५ जना मेलमिलापकर्तालाई ८ दिनको आधारभूत तालिम दिइएको न्यायिक समितिका संयोजक समेत रहेका नगर उपप्रमुख रत्नबहादुर लामाले जानकारी दिनुभयो।

काभ्रे जिल्ला मूख्य न्यायधिश मोहनराज भट्टराई, श्रेस्तेदार गोविन्द प्रसाद घिमिरे, अधिवक्ता दिपक प्रसाद चौलागाई, सृजना तामाङ, नमोबुद्ध नगरपालिकाका कानूनी सल्लाहकार रहेका अधिवक्ता महेन्द्र तामाङ (थिङ), वैतनिक वकिल निरोजप्रसाद नेपाल, जिल्ला कानूनी सहायता केन्द्रका अधिवक्ता विजयभक्त श्रेष्ठ लगायतले सहजिकरण गर्नुभएको थियो।

सम्बन्धी प्रचलित कानून, अन्तराष्ट्रिय अभ्यास, मेलमिलापका चरण, विवाद समाधान लगायतका विषयमा सैद्धान्तिक र व्यवहारिक ज्ञानसहितका सत्र सञ्चालन गरिएको न्यायिक समितिमा कार्यरत अधिकृत गोविन्द सापकोटाले जानकारी दिनुभयो।

समापन समारोहमा जिल्ला न्यायधीश मोहनराज भट्टराई, नगर प्रमुख कुनसाङ लामा, उपप्रमुख एवं न्यायिक समितिका संयोजक रत्नबहादुर लामा, नगर प्रवक्ता टिकाबहादुर केसी, न्यायिक समितिक सदस्य समेत रहेका वडा नं ७ का अध्यक्ष धर्मसिं लामा, वडा नं ४ का अध्यक्ष अर्जुन कार्की, नगर युवा परिषद्का कार्यकारी उपाध्यक्ष रामेश्वर अधिकारीलगायतले सहभागीलाई प्रमाणपत्र प्रदान गर्नुभयो।

मुख्य न्यायधीश मोहनराज भट्टराईले जनताले घरदैलोमा नै न्यायको अनुभुति गर्न पाओेस् भनेर स्थानीय तहमा नै न्यायिक समितिको अवधारणा ल्याइएको तर्क गर्नुभयो।

नगर प्रमुख कुनसाङ लामाले आफू क्षमतावान नभएसम्म अरुलाई न्याय दिन नसक्ने भन्दै मेलमिलापकर्ताको सिप, ज्ञान र क्षमता अभिवृद्धिको लागि तालिम सञ्चालन गरिएको बताउनुभयो। नगर उपप्रमुख रत्नबहादुर लामाले मेलमिलापमा जोड दिए न्यायिक समितिसम्म उजुरी नै नआउने तर्क गर्नुभयो।

नगर प्रवक्ता टिकाबहादुर केसी, नगर युवा परिषद्का कार्यकारी उपाध्यक्ष रामेश्वर अधिकारीले तालिममा सिकेका ज्ञान, सिपलाई व्यवहार लागू गर्न र समाजमा हुने हिंसा, अपराध कम गर्न सुझाव दिनुभयो।

प्रतिक्रिया दिनुहोस