पनौती नगरपालिकाको १३औं नगरसभा स्थगित, यस्तो छ कारण…

नौलो समाचार संवाददाता
२०८० अषाढ १०, आईतबार मा प्रकाशित २२७८ पटक पढिएको
पनौती नगरपालिकाको १३औं नगरसभा स्थगित, यस्तो छ कारण…

असार १०, काभ्रे। पनौती नगरपालिकाको १३औं नगरसभा स्थगित भएको छ।

नगरसभा सुरु भएको केहि समयमै नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिको बिरोधका कारण नगरसभा स्थगित भएको हो।

आइतबार बोलाइएको नगर सभा एमालेको तर्फबाट निर्वाचित जनप्रतिनिधीले बहिष्कार गरेपछी नगर प्रमुख रामशरण भण्डारीले बैठक अर्को सूचना जारी नभएसम्मको लागि स्थगित गर्नुभएको हो।

प्रमुख  भण्डारीले सभा संचालन भएको जानकारी गराउउदै आर्थिक बर्ष २०८०/८१ को नीति तथा कार्यक्रम वाचन गर्न खोज्दा पनौती नगरका नेकपा एमालेबाट निर्वाचित नगरसभा सदस्यहरुले आ-आफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए।

होहल्ला सहित बिरोध जनाएपछि नगर प्रमुख भण्डारीले पटक-पटक नगरसभाका सदस्यहरुलाई आ-आफ्नो स्थानमा बस्न अनुरोध गर्दा पनि बिरोध कायम राखेपछि अर्को सूचना जारी नभएसम्मका लागि नगरसभा स्थगित भएको घोषणा गर्नुभएको थियो।

नगर प्रमुख रामशरण भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गर्दा उपप्रमुख गिता बञ्जाराले मर्यादा नै नाघेर आफ्ना केही कुरा रहेको भन्दै माइक खोस्नुभेको थियो। त्यसपछि एमालेको तर्फबाट निर्वाचित जनप्रतिनिधी उठेर विरोध गरेका थिए र बैठक स्थलबाट बाहिरिएका थिए ।

संविधानले प्रतिपक्षको कल्पना नै नगरेको स्थानीय तहमा सपथ ग्रहणको दिनदेखि नै यस्ता खाले विवाद हुदै आएको छ। ‘बहुमत’ भएको पार्टीलाई औपचारिक छलफल र सल्लाह नगरी कार्यक्रम गरिएको भन्दै एमालेले यसअघि बनेपा र पनौतीमा सपथग्रहण नै बहिष्कार गरेका थिए।

नगर सभा स्थगित भएपछी स्थगित गर्नुको कारणसहित नगर प्रमुख भण्डारीले जारी गर्नुभएको प्रेस बिज्ञप्ति यस्तो छ:

२०७९ बैसाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचन अन्तर्गत पनौती नगरका आम मतदाताहरुको अपार मायाका कारण मैले नगर प्रमुखको जिम्मेवारी ग्रहण गर्ने सुनौलो अवसर प्राप्त गरें । यसका प्रति पनौती नगरका सम्पूर्ण मतदाता तथा शुभेच्छुहरुमा हार्दिक आभार प्रकट गर्दछु । जनमतलाई नासोको रुपमा स्वीकार गरेको छु । म पनौतीलाई स्वच्छ, सफा, पर्यटकीय गन्तव्य, सुशासित, भ्रष्ट्रचारमुक्त र समृृद्ध नगरका रुपमा विकास गर्न चाहन्छु । बिगत लामो समय देखि नगरमा भएका बेथितिहरुको चिरफार गर्दै यहाँका सम्पदाहरु, जडिबुटि, धार्मिक स्थल, र कृषि क्षेत्रलाई देश विदेशमा चिनाउन चाहन्छु । नगरका युवाहरुलाई सीपयुक्त स्वरोजगार जनशक्तिका रुपमा विकास गर्ने लक्ष्यका साथ अघि बढिरहेको छु । मैले एक वर्षको अबधिमा कहिले पनि कसैसंग सम्झौता गरिन, नगरबासीहरुको शीरलाई कहिले पनि झुक्न दिइन र दिने छैन । हाम्रा सामु थुप्रै अवसर र चुनौतीहरु रहेका छन् । चुनौतीहरुको सामना र अवसरहरुको सदुयोग गर्दै पनौती नगरलाई समृद्ध नगरका रुपमा रुपान्तरण गर्ने मेरो अठोट रहेको छ । यसका लागि यहाँका सम्पूर्ण राजनीतिक, दल, नागरिक समाज, जन प्रतिनिधि र नगरबासीहरुको साथ र सहयोगको याचना समेत गर्दछु । वर्तमान समयमा पनौतीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने, क्षेत्रीय रंगशाला निर्माणलाई पूर्णता दिने, काभ्रे एकिकृत खानेपानी आयोजनालाई टोलगत रुपमा कार्यान्वयन गर्दै जाने, स्वच्छ सफा नगर बनाउन फोहोर मैलाहरुको व्यवस्थापन गर्ने र सडकहरुमा हरियाली कायम गर्न बोट विरुवाहरु रोप्ने, भ्रष्ट्राचारमुक्त र सुसाशनयुक्त समाज निर्माण गर्ने कार्य अघि बढिसकेको छ । जसको कार्यान्वयनको लागि पनि उच्च मनोबलयुक्त कर्मचारि प्रशासनको आवश्यकता पर्दछ ।

सुशासन सहितको सक्षम सबल र प्रभाबकारी सेवा गर्न सक्ने प्रशासन संयन्त्र भएको पनौती नगरको परिकल्पनालाई साकार रुप दिन स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ८३ ले तोकेको प्रशासकीय संगठन र कर्मचारी दरबन्दि सम्बन्धी प्राबधान बमोजिम नगरपालिकाको कार्यबोझ राजश्व क्षमता, खर्चको आकार, स्थानीय आवश्यकता र विशिष्टता समेतलाई ध्यानमा राखी संगठन तथा व्यवस्थापन सर्वेक्षण (Organization and Management – O&M) गरि संगठन संरचना कायम गर्नुपर्ने बाध्यकारी व्यवस्था रहेको छ । यसरी प्रचलित कानुन बमोजिम नहुँदा महालेखा परिक्षकको कार्यालयले समेत आ.व. २०७९/८० को लेखा परीक्षण प्रतिवेदनमा बिगत २०७४ साल देखि नै विविध विषयमा बेरुजु भनी औंल्याएको छ । त्यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २०७६/८/१५ च.नं. २३० को पत्रमा पनि कर्मचारी भर्ना मनोमानी तरिकाले गर्न नहुने सुझाव दिएको थियो ।

यस परिस्थतिमा पनौती नगरलाई २१ औं शताव्दी अनुकुल ज्ञान र सीप भएको कर्मचारी छनोट, उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीहरुलाई अझ बढि जिम्मेवार बनाइ TOR प्रदान गरी उच्च मनोबलका साथ कार्य गरि स्थायीत्व र पदोन्नती हुने बाटो खोल्ने उद्देश्यका साथ १३ औं नगर सभामा संगठन संरचना सर्वेक्षण (O&M) नगर प्रमुखको हैसियतले प्रस्ताव गरिएको थियो । नेपालको संविधान, प्रचलित ऐन कानुन र समय सापेक्ष हुँदा हुँदै पनि सुशासन जस्तो विषयमा नजर अन्दाज गर्नु पक्कै पनि नगरबासी माथिको अपमान हो भन्ने मेरो बुझाइ रहेको छ । आदरणीय विवेकशिल नगरबासी दाजु भाई तथा दिदी बहिनीहरु तथा पत्रकार मित्रहरु आम नगरबासीहरुको जनमत बमोजिम प्रभाबकारि र जनउत्तरदायी प्रशासन बनाउने संकल्पबाट किञ्चित बिचलित नभई यहाँहरुले प्रदान गर्नु भएको जिम्मेवारीलाई अझ सशक्त ढंगले अघि बढाउने वचन बद्धता व्यक्त गर्दछु । प्रतिपक्षरहित स्थानीय तहको परिकल्पना नेपालको संविधानले गरेता पनि व्यवहारमा तेस्तो देखिएन । आफ्नो स्वार्थ अनुकूल नहुँदा पटक पटक कार्यपालिकाको बैठक अबरुद्ध गरियो । नगरबासीहरुको हितको लागि दूरगामी महत्व राख्ने पनौतीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने, काभ्रे एकिकृत खानेपानी योजना, क्षेत्रीय रंगशाला, करिडोर निर्माण, फोहोर मैला व्यवस्थापन एबम् विकास निर्माणलाई उत्पादनसंग जोड्ने हाम्रो अभियानलाई निरन्तर रुपमा छायाँमा पार्न खोजियो । चुस्त प्रशासन र छिटो छरितो सेवा प्रदान गर्नु हामी जनप्रतिनिधीहरुको दायित्व हो । कसैको निहित स्वार्थ पूर्ति गर्ने माध्यम हामी बनिरहनु पर्ने जरुरी देख्दिन । हामी सबैको साथ र सहयोगले मात्र हामी भ्रष्टाचारमुक्त, शुसाशित र समृद्ध पनौती नगर बनाउने महान अभियानलाई सफल पार्न सक्छौं । जनताहरुको मतलाई सम्मान गर्दै अबरुद्ध गरिएको १३ औं नगर सभालाई यथासम्भव चाँडो सुचारु गरि लोकतन्त्र र विधिको शासनमा संकल्प गर्दै हातेमालोका साथ अगाडि बढ्न सम्पूर्ण नगरबासीहरु र सभाका सदस्यहरुलाई आव्हान गर्न चाहन्छु ।

धन्यवाद । जय नेपाल ।
रामशरण भण्डारी
नगर प्रमुख


प्रतिक्रिया दिनुहोस