नमोबुद्ध पूर्ण खोप सुनिश्चित नगर घोषणा

नौलो समाचार संवाददाता
२०८० अषाढ ११, सोमबार मा प्रकाशित १५०४ पटक पढिएको
नमोबुद्ध पूर्ण खोप सुनिश्चित नगर घोषणा

असार ११, काभ्रे। नमोबुद्ध नगरपालिकालाई पूर्ण खोप सुनिश्चित नगर घोषणा गरिएको छ।

आर्थिक बर्ष २०७९/८० को चैत्र मसान्तसम्मको अवधीमा १६ महिनादेखि २३ महिनासम्मका बालबालिकाले पाउनुपर्ने खोप लगाएको सुनिश्चित भएपछि खोप सुनिश्चित नगर घोषणा गरिएको हो। १६ महिनासम्म पाउनुपर्ने खोप सो अवधीमा नपाएको भए २३ महिनासम्ममा पुरा गरिन्छ।

सोमबार नगरपालिकामा वडा अध्यक्ष, १४ वटै स्वास्थ्य संस्थाका प्रतिनिधीहरुको उपस्थितीमा नगरपालिकालाई पूर्ण खोप सुनिश्चित नगर घोषणा गरिएको हो। यसअघि विभिन्न मितिमा नगरपालिकाका ११ वटै वडा पूर्ण खोप सुनिश्चित घोषणा भइसकेका छन्।

नगरपालिकाको आधारभूत स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य अधिकृत भगिरथ अधिकारीका अनुुसार, १४ स्वास्थ्यबाट सो उमेर समुहका ३ सय २३ जनाले खोप पाएको प्रमाणित भएपछि घोषणा गरिएको हो। उहाँका अनुसार, घोषणापूर्व ती स्वास्थ्य संस्थामार्फत घरधुरी सर्वेक्षण समेत गरिएका थिए।

चैत्र महिनालाई खोप महिनाको रुपमा विभिन्न अभियान सञ्चालन गरिन्छ। घरधुरी सर्वेक्षण सहित खोप पाउन कोही छुटे-नछुटेको यकिन गरी सो बर्षलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिन्छ।


प्रतिक्रिया दिनुहोस