नमोबुद्धको भैरवकुण्डबाट कुशेश्वर मन्दिरसम्म बृहत कलश यात्रा

नौलो समाचार संवाददाता
२०८० श्रावण २२, सोमबार मा प्रकाशित २३२ पटक पढिएको
नमोबुद्धको भैरवकुण्डबाट कुशेश्वर मन्दिरसम्म बृहत कलश यात्रा

साउन २२, काभ्रे। नमोबुद्ध नगरपालिका वडा नं ३ स्थित भैरवकुण्डबाट जगवैजेश्वर महादेव मन्दिर हुँदै कुशेश्वर मन्दिरसम्म बृहत कलश यात्रा गरिएको छ ।

भैरवकुण्ड निर्माण तथा संरक्षण समितीको आयोजना, नमोबुद्ध नगरपालिका, वडा नम्बर ३ को कार्यालय लगायत अन्य व्यक्ति तथा संघसंस्थाको सहयोगमा कलश यात्रा गर्दै भैरवकुण्डबाट लगिएको जल नौबिसे स्थित जगबैजेश्वर महादेव र कुशेश्वर महादेवमा सेचन गरिएको हो ।

स्थानीय समाजसेवि इन्द्रबहादुर दाहालका अनुसार, पहिला १८ हल गोरु, हली, १०० जना लाठे, रोपार यहाँ बाट प्रबेश गरेर सिन्धुलीको गजुली दहबाट निस्केको किम्वदन्ती छ ।

२०६६ सालमा भकुण्डेवेशीमा खडेरी परेर पानी नपरेपछि भ्यागुताको विहे गर्ने सल्लाह भएर भैरवकुण्डबाट जन्ती निकालेर पाट्ने पोखरीमा बेहुलीको घर बनाइ अन्माएर भैरवकुण्डमा नै आएको एक घण्टामा पानी परेको र सिंचाइको लागि सहज भएको थियो ।  भैरवकुण्ड निर्माण तथा संरक्षण समितिका अध्यक्ष केदारप्रसाद पौडेलका अनुसार, पहिला भैरवकुण्ड रहेको स्थानमा मानिसहरु जान डराउँथे । नागको बास भएकोले त्यस कुण्डमा मान्छे तान्छ भन्ने विश्वास थियो । स्थानीयले अहिले सो स्थानको संरक्षण गरि कुण्डका साथै मन्दिर सत्तल लगायतका पूर्वाधार निर्माण गरेका छन् ।

सोमबार एक कार्यक्रमबिच नमोबुद्ध नगर प्रमुख कुनसाङ लामाले धार्मिक आस्था, सहिष्णुता कायम गर्दै अघि बढेको भन्दै भगवानको सेवा गर्दै नमोबुद्धको विकासमा लाग्न सबैमा अनुरोध गरे । धार्मिक, पर्यटकीय पूर्वाधार लगायत संस्कृति संरक्षण्को लागि नमोबुद्ध नगरपालिकाले सहयोग गर्ने प्रतिवद्धता गरे ।

पूर्व नगर प्रमुख टि.पि शर्मा तिमल्सिनाले भैरवकुण्डे अपभ्रशं हुँदै भकुन्डे भएको तर्क गर्दै भैरवकुण्ड आसपासका सास्कृतिक सम्पदा समेटेर पुरातात्विक क्षेत्रको रुपमा विकास गर्नुपर्नेमा जोड दिए ।  नमोबुद्ध वडा नं ३ का वडाअध्यक्ष रमेश तिवारीले १० बर्षअघिदेखि हुँदै आएको कलश यात्रालाई निरन्तरता दिन आफू जनप्रतिनिधी निर्वाचित भएपछि निरन्तर सहयोग गर्दै आएको भन्दै फेरी पनि संस्थागत र व्यक्तिगत रुपमा पनि सहयोग गर्न तयार रहेको बताए । उनले अघिल्लो बर्ष पनि वडाबाट सहयोग भएको भन्दै यस बर्ष पनि निरन्तरता दिने प्रतिवद्धता जनाए ।

युवा पण्डित उत्तम काफ्ले श्रुतीमति नदिको शिर रहेको भैरवकुण्डको जल महादेवको शिरमा अर्पण गरौं भन्ने अभिप्रायले प्रत्येक बर्ष कलशयात्रा हुँदै आएको भन्दै सस्कृतीको रक्षा भएमा मात्रै सबैको रक्षा हुने तर्क गरे ।  भैरवकुण्ड निर्माण तथा संरक्षण समितिका अध्यक्ष केदारप्रसाद पौडेलले भैरवकुण्ड क्षेत्रमा विभिन्न पूर्वाधार निर्माण गर्न आवस्यक भएको भन्दै सबै क्षेत्रको सहयोगको अपेक्षा समेत गरे ।

कलशयात्राका सहभागी भैरवकुण्डबाट पैदलै नौबिसेस्थित जगवैजेश्वर महादेव मन्दिर परिसर पुगेर त्यहाँ व्यवस्था गरिएको १० वटा सार्वजनिक यातायातमा कुशेश्वर पुगेका थिए । बस व्यवस्थापनको लागि नमोबुद्ध वडा नं ३ का अध्यक्ष रमेश तिवारी लगायत अन्य केही दाताले सहयोग गरेका छन् ।

कार्यक्रममा २६ नं बाहिनी भकुण्डेवेशीका गणपति सहायक रथी सुनिल घले, जिल्ला नमोबुद्ध नगरपालिका प्रवक्ता एवं वडा नं ६ का अध्यक्ष टिकाबहादुर केसी, वडा नं ७ का अध्यक्ष धर्मसिं लामा, वडा नं १० का अध्यक्ष रामकृष्ण उपाध्याय, वडा नं ४ मा अध्यक्ष अर्जुन कार्की, नगर युवा परिषद्का कार्यकारी उपाध्यक्ष रामेश्वर अधिकारी, विश्व हिन्दु महासंघ काभ्रेका अध्यक्ष प्रविण धिताल लगायतका पदाधिकारी र विभिन्न क्षेत्रका व्यक्तित्वहरुको उपस्थिती थियो ।


प्रतिक्रिया दिनुहोस