साउन २९, हेटौडा। बागमती प्रदेशका सबै प्रादेशिक अस्पतालहरुमा बिरामी भर्ना सेवा निःशुल्क गर्न निर्देशन दिइएको छ। प्रदेशको स्वास्थ्य मन्त्रालयले एक सूचना जारी गर्दै निःशुल्क रुपमा बिरामी भर्ना गर्न अस्पतालहरुलाई निर्देशन दिएको हो।
मन्त्रालयले भदौ १ गतेबाट लागू हुनेगरी नागरिकहरुको निःशुल्क भर्ना गर्न प्रदेश सरकार मतहातका १३ अस्पताललाई निर्देशन दिएको छ।
अस्पतालका क्याविन, एनआईसियू र आईसियू बाहेक अन्य सम्पूर्ण शय्याहरु निःशुल्क हुने भएको छ। गत साउन २२ गतेको मन्त्रीस्तरको निर्णय अनुसार प्रदेशका १३ जिल्लाका १३ प्रादेशिक अस्पतालका ८११ वटा शय्या नागरिकहरुका लागि निःशुल्क उपलब्ध हुने मन्त्री उत्तम जोशीले बताउनुभयो।
त्यस्तै मन्त्रालयले भदौ १ गतेदेखि लागू हुने गरी प्रदेशभित्रका १३ वटा आयुर्वेद केन्द्रलाई पनि रिह्यावीटेसन सेवा र फिजियोथेरापी सेवा निःशुल्क गर्न निर्देशन दिएको छ।
साथै प्रदेशका सरकारी, निजी, सहकारी र सामुदायिक अस्पतालहरुलाई सामाजिक सेवा इकाई स्थापना गरी विपन्न, असहाय तथा बेवारिसे बिरामीको उपचार व्यवस्थित गर्न मन्त्रालयले निर्देशन जारी गरेको छ।






प्रतिक्रिया दिनुहोस