बेथानचोकका किसानलाई दूधमा अनुदान वितरण, बेथानचोकसहित पनौतीका २९५ किसानले पाए थप अनुदान

नौलो समाचार संवाददाता
२०८० भाद्र ५, मंगलबार मा प्रकाशित १४६५ पटक पढिएको
बेथानचोकका किसानलाई दूधमा अनुदान वितरण, बेथानचोकसहित पनौतीका २९५ किसानले पाए थप अनुदान

भदौ ५, काभ्रे। दुग्ध उत्पादक सहकारी संस्थाहरुले बेथानचोकका किसानहरुलाई अनुदान वितरण गरेका छन्।

दुध उत्पादन र बजारीकरण गर्दै आएका काभ्रेपलाञ्चोक जिल्लाका दुग्ध उत्पादक सहकारी संस्थाहरुले आर्थिक वर्ष २०७९/८० मा प्रतिफलमा आधारित प्रोत्साहन अनुदानबापत प्रदान गरिने रकम अन्तर्गत किसानहरुलाई अनुदान वितरण गरेका हुन्।

एक कार्यक्रमका बीच आधुनिक कृषि सहकारी संस्थाले सहकारीले थानी महाङ्काल डेरीमार्फत दुध बिक्री गर्ने कृषकहरुलाई अनुदान रकम वितरण गरेको हो । सहकारीले थप अनुदान माग गरेको १० लाख ५८ हजार ३६ लिटर दुधमध्ये १० लाख ५२ हजार लिटर दुधमा मात्रै अनुदान रकम प्राप्त गरेको बेथानचोक–२ का वडा अध्यक्ष पुरुषोत्तम तिमल्सिनाले जानकारी दिनुभयो । उहाँका अनुसार सहकारीमा आवद्ध किसानहरुलाई बाग्मती प्रदेश सरकारले दूध उत्पादनमा आधारित रही प्रति लिटर दुधमा ३ रुपैंया ५६ पैंसा अनुदान दिएसँगै सो रकम हस्तान्तरण गरिएको हो ।

सहकारीमार्फत बेथानचोक गाउँपालिका–२ र ३ का १९६ किसान र पनौती नगरपालिकाका ९९ जना किसानले थप अनुदान रकम पाउनु भएको अध्यक्ष तिमल्सिनाले बताउनुभयो । सहकारीले १० लाख ५८ हजार लिटर दुधमा ३७ लाख ४८ हजार ५८३ रुपैंया अनुदान रकम पाएकोमा बेथानचोकका किसानले २६ लाख ९ हजार ६१५ रुपैंया र पनौतीका किसानले ११ लाख ३८ हजार ९३८ रुपैंया प्राप्त गरेका हुन् । एउटा किसानले कम्तिमा चार हजार ३४३ रुपैंयादेखि अधिकतम पचास हजार रुपैंयासम्म अनुदान पाएको सहकारीले जनाएको छ ।

अनुदान रकम वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष भगवान अधिकारीले गाउँपालिका किसानको ओठमा हाँसो ल्याउनका लागि सोही अनु्सारको कार्यक्रम अघि बढाएको बताउनुभयो । उहाँले युवा तथा किसानलाई व्यवसायिक कृषि तथा पशुपालनमा आकर्षित गर्न गाउँपालिकाले निःशुल्क कृत्रिम गर्भाधान सेवा तथा गाउँपालिका साक्षी बसेर सहुलियत दरमा कर्जा सुविधाको कार्यक्रम अघि बढाएको बताउनुभयो । गाउँपालिका अध्यक्ष अधिकारीले गाउँपालिकाले किसानको तथ्याङ्क सङ्कलन गर्ने काम अघि बढाएको बताउँदै तथ्याङ्क सङ्कलनको काम पुरा भएपछि ‘किसान परिचय पत्र’ वितरण गरिने बताउनुभयो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तारा राना तिमल्सिनाले किसानहरुको समस्या समाधानका लागि गाउँपालिकाले काम गरिरहेको बताउनुभयो । कृषि उपजको उत्पादन गर्न मल, बीउ, सिँचाइमा गरेको खर्च, रोप्दा, गोडमेल र टिपेर बजारसम्म लैजाने खर्च समेत नउठ्ने अवस्थमा यस प्रकारको अनुदानले उत्साह भर्ने बताउनु भयो । उहाँले किसानको समस्या सम्बोधनका लागि स्थानीय सरकारबाट आवश्यक सहजीकरण गर्ने काम भएको पनि बताउनु भयो ।

कार्यक्रममा वडा नं. ३ का वडा अध्यक्ष कुबेर ढकाल, ४ का अध्यक्ष कृष्णबहादुर पाख्रिन, गाउँपालिकाका पूर्व अध्यक्ष प्रेमबहादुर तिमल्सिना, बेथानचोक गाउँपालिका–३ का पूर्व वडा अध्यक्ष दिलबहादुर श्रेष्ठ लगायतले किसानहरुले वर्ष दिन भर किसानहरुले बिक्री गरेको दुधको आधारमा प्रदेश सरकारले दिएको अनुदान रकमले किसानहरुलाई पशुपालनमा आकर्षित गरी थप दुध उत्पादन गर्न उत्प्रेरणा दिएको बताउनुभयो । उहाँहरुले सरकारले दुधमा थप अनुदान रकम दिएसँगै किसानहरुले घरदेखि दुग्ध सङ्कलन केन्द्रसम्म गुणस्तरीय र सफा दुध लैजान ध्यान दिनुपर्ने बताउनुभयो । उहाँहरुले किसानले व्यहोरेका समस्याहरुबारे धारणा राख्नु भएको थियो ।

कार्यक्रममा सहकारीका अध्यक्ष बलराम बजगाँईले सहकारीमा आवद्ध किसानहरुलाई दुधमा अनुदान रकम प्रदान गर्न ठुलो मिहेनत गर्नुपरेको बताउनुभयो । उहाँले किसानले दुधमा पाएको अनुदान रकमले उहाँहरुको समस्या टार्न सहज भएको बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस