देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने चिकित्सक संघको घोषणा

नौलो समाचार संवाददाता
२०८० भाद्र ३०, शनिबार मा प्रकाशित १०१९ पटक पढिएको
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने चिकित्सक संघको घोषणा

भदौ ३०, काठमाडौं। नेपाल चिकित्सक संघले भोलि आइतबार देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने भएको छ ।

हेटौँडामा डाक्टर कुट्नेलाई ७२  घण्टाभित्र कानुनी कारबाहीको माग सरकारले पूरा नगरेको भन्दै भोलि आकस्मिकबाहेकका सबै सेवा ठप्प पार्ने चिकित्सक संघको विज्ञप्तिमा उल्लेख छ ।

भोलि सरकारी स्वास्थ्य संस्था, अस्पताल, मेडिकल कलेज, निजी अस्पताल तथा क्लिनिकमा भोलि आकस्मिक बाहेकका सेवा सञ्चालन नहुने संघले जनाएको छ । सरकारले डाक्टर कुट्नेलाई कारबाही गर्नुको साटो मेलमिलाप गराउन खोजेको र घटनालाई गम्भीर रुपमा नलिएको चिकित्सक संघको आरोप छ ।

गएको साउन २५ मा डेंगीबाट ज्यान गुमाएका हेटौँडा–१२ का राजेश प्रधानका आफन्तले सञ्चो अस्पताल हेटौँडाका डाक्टर विकास थापा र प्रशान्त विडारीलाई कुटेका थिए । आन्दोलनबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार सरकार नै हुने संघका महासचिव सञ्जीव तिवारीले बताउनुभयो ।

उपचारमा लापरबाही भएको भन्दै मृतकका आफन्तले डाक्टरलाई ज्यानै मार्ने उद्देश्यका साथ कुटपिट भएको संघको दाबी छ । कुटपिटमा संलग्न मृतक राजेश प्रधानकी श्रीमती रमा प्रधान, छोरी रमिता प्रधान, छोरा रोहित प्रधान र भतिजा अनुप प्रधानलाई प्रहरीले पक्राउ गरिसकेको छ ।


प्रतिक्रिया दिनुहोस