आज हरितालिका तीज व्रत, शिब मन्दिरहरुमा ब्रतालुको घुइचो

नौलो समाचार संवाददाता
२०८० आश्विन १, सोमबार मा प्रकाशित ८३७ पटक पढिएको
आज हरितालिका तीज व्रत, शिब मन्दिरहरुमा ब्रतालुको घुइचो

असोज १ , काभ्रे। भदौ शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ ।

भदौ शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।

आज काठमाडौंको पशुपतिनाथ मन्दिरमा रातिदेखि नै भक्तजनको घुइचो लागेको छ। आज पशुपति मन्दिरका चारै वटा ढोका खोलेको छ भने दर्शनका लागि ४ लाइनको व्यवस्था गरिएको छ।

यस्तै, यता काभ्रे पनौतीमा अवस्थित इन्द्रेश्वर मन्दिरमा पनि भक्तजनको ठुलो भिड लाग्ने गर्दछ। साथै अन्य शिव मन्दिरहरुमा पनि ब्रतालुहरुको भिड लागेको छ।

सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने वरदान पाएको विश्वासमा यो व्रत सुरु भएको पौराणिक मान्यता छ । वरदानविपरीत पार्वतीका पिता हिमालयले पार्वतीको इच्छाविपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरूलाई आफ्नो समस्या सुनाइन् ।

पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरूले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरूले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई पतिका रूपमा प्राप्त गरिन् । यसरी पार्वती साथीहरूद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयको दिन भएकाले त्यही समयदेखि हरितालिका (तीज) को व्रत लिने प्रचलन सुरु भएको धर्मशास्त्रीय मत छ ।

संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुईवटा शब्द मिलेर हरितालिका शब्द बनेको छ । जसमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ ।

सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले श्रीमहादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ ।


प्रतिक्रिया दिनुहोस