केन्द्रीय सदस्य हुमागाईलाई काभ्रे कांग्रेसको सम्मान

नौलो समाचार संवाददाता
२०८० आश्विन ११, बिहिबार मा प्रकाशित २६३ पटक पढिएको
केन्द्रीय सदस्य हुमागाईलाई काभ्रे कांग्रेसको सम्मान

बनेपा / दोस्रो पटक केन्द्रीय सदस्य बनेका नेता शिवप्रसाद हुमागाईलाई नेपाली कांग्रेस काभ्रेले बधाई तथा शुभकामना व्यक्त गरेको छ । बिहिबार बनेपास्थित पार्टी कार्यालयमा एक कार्यक्रमको आयोजना गरेर नेपाली कांग्रेस काभ्रे, क्षेत्रीय कार्यसमिति, नेपाल तरुण दल लगायत भातृ संस्थाहरुले सम्मान गरेका हुन् । १३ औं महाधिवेशन पछि केन्द्रीय रहिसकेका हुमागाईलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हालै केन्द्रीय सदस्य मनोनित गरेका थिए ।
वि.सं. २०३६ सालमा विधार्थी आन्दोलनमा सहभागी भएर राजनीति शुरु गरेका शिवप्रसाद हुमागाईले २०३६ सालमा नै कांग्रेसको सदस्यता लिएका थिए । शिक्षण पेशा समेत अंगालेका हुमागाईले बहुदलको पक्षमा जनमत संग्रहको प्रचार प्रसारको डाँडापारी क्षेत्रमा नेतृत्व गरेका थिए । २०३६ देखि २०३९ साल सम्म नेविसंघ र शिक्षक संघको जिल्ला कार्यसमिति सदस्य भएका उनी २०३८ सालमा नेविसंघको केन्द्रीय महाधिवेशन प्रतिनिधी भइसकेका थिए । २०३९ देखि २०४१ सालसम्म नेविसंघ काभ्रेको सचिव भएर काम गरेका उनले २०४२ देखि २०४६ सालसम्म नेविसंघ जिल्ला सभापतिको रुपमा नेतृत्व गरे । २०४८ देखि २०५१ सालसम्म क्षेत्र नं ३ को सभापति र जिल्ला सचिवको एकैसाथ जिम्मेवारी निभाएका हुमागाई २०५२ साल फाल्गुन ३० गते पहिलो पटक कांग्रेस जिल्ला सभापति निर्वाचित भएका थिए । २०५३ साल वैशाख १५ गते पुनः भएको अधिवेशनमा पनि उनी सभापति निर्वाचित भएका थिए ।
२०५६ सालमा प्रतिनिधी सभा सदस्य निर्वाचित भएका उनले काभ्रे क्षेत्र नं २ बाट २५ हजार ३ सय ९० मत प्राप्त गरी नेकपा एमालेका तत्कालिन स्थायी समिति सदस्य केशव बडाललाई पराजित गरेका थिए । २०६२–२०६३ सालको जनआन्दोलनको बलमा पुर्नस्थापित संसदमा उनी सदस्य थिए । २०६४ र २०७० सालमा भएको संविधान सभा निर्वाचनमा प्रत्यासी रहेका उनले २०७४ सालमा भएको प्रतिनिधीसभा र प्रदेश सभाको निर्वाचनमा जिल्लाको चुनावी कमाण्ड सम्हालेका थिए ।
२०५८ देखि २०६१ सालसम्म पार्टीको केन्द्रीय संगठन विभागको सदस्य सचिव भएर काम गरिसकेका उनी पाँचौ जिल्ला अधिवेशनबाट पुन सभापतिमा निर्वाचित भएका थिए । २०६७ साल साउन १७ गते सम्पन्न छैठौ जिल्ला अधिवेशनमा पनि उनी सभापति निर्वाचित भएका थिए । १३ औं महाधिवेशनपछि पार्टी सभापति शेरबहादुर देउवाले उनलाई केन्द्रीय सदस्य मनोनित गरेका थिए । श्रमिक तथा टे«ड युनियन विभागको संयोजकको रुपमा उनले भुमिका निर्वाह गरेका थिए । प्रतिनिधी सभा तथा प्रदेश सभा निर्वाचन २०७९ मा लोकतान्त्रिक बाम गठबन्धनको साझा उम्मेदवारको रुपमा प्रतिनिधी सभा क्षेत्र नं २ मा नेपाली कांग्रेसबाट प्रत्यक्षतर्फका उम्मेदवार रहेक उनी पार्टी भित्रकै अन्तरघातका कारण पराजित भएका थिए । २०४२ सालको सत्याग्रहमा नख्खु जेलमा बसेका उनले पटक–पटक जेल जीवन विताएका छन् । २०६२÷६३ सालको जनआन्दोलनमा उनकै नेतृत्वमा बागबजारमा कफ्र्यु तोडिएको थियो ।
कार्यक्रममा केन्द्रीय सदस्य हुमागाईले काभ्रे कांग्रेसको शाख र इज्जत जोगाउने गरी काम गर्ने भन्दै सबैलाई उत्साहित भएर संगठन निर्माणमा लाग्न निर्देशन दिए । एकता र अनुशासन बिना कुनै संस्था सफल नहुने भन्दै उनले काभ्रे कांग्रेस एकजुट भएर वडातह देखिका निर्वाचन जित्ने गरी अघि बढ्नुपर्ने बताए । कार्यकर्ताका कारण काभ्रे कांग्रेसमा समस्या नभएको भन्दै उनले नेताहरुले नै विपक्षीसंग अनैतिक गठजोड गरेका कारण समस्या भएकोले नेताहरु नै सुध्रिनुपर्ने तर्क गरे ।
बाग्मती प्रदेशका खानेपानी, उर्जा तथा सिंचाइ मन्त्री रहेका नेपाली कांग्रेस काभ्रेका सभापति तीर्थ लामाले केन्द्रीय सदस्य बनाएर काभ्रेको सम्मान गरेकोमा सभापति र केन्द्रीय कार्यसमितिलाई आभार प्रकट गरे । उनले काभ्रेको संगठन बलियो हुने विश्वास व्यक्त गर्दै सबैलाई काभ्रे कांग्रेसलाई बलियो र एकढिक्का बनाउन संगठन निर्माणमा जोड दिए ।


प्रतिक्रिया दिनुहोस