कांग्रेस जिल्ला सभापति लामा माथिको आरोप प्रमाणित भए राजनीतिबाट सन्यास लिने केन्द्रीय सदस्य हुमागाईको घोषणा

नौलो समाचार संवाददाता
२०८० आश्विन ११, बिहिबार मा प्रकाशित १०२२ पटक पढिएको

कांग्रेस जिल्ला सभापति लामा माथिको आरोप प्रमाणित भए राजनीतिबाट सन्यास लिने केन्द्रीय सदस्य हुमागाईको घोषणा

बनेपा / नेपाली कांग्रेसका केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईले बाग्मती प्रदेशका खानेपानी, उर्जा तथा सिंचाईमन्त्री समेत रहेका जिल्ला सभापति तीर्थ लामा माथि लागेको आरोप प्रमाणित भए आफूले समेत राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन् । लामालाई कपोकल्पित रुपमा लाञ्छित गर्ने काम भएको भन्दै उनले कुनै गल्ती नगरेकोमा आफू ‘त्यति कन्फिडेन्स’ भएको तर्क गरे ।
आफ्नो सम्मानमा बनेपामा नेपाली कांग्रेस काभ्रेले आयोजना गरेको बधाई तथा शूभकामना कार्यक्रममा बोल्दै उनले सभापतिले गलत गरेको प्रमाणित भए आफू पनि भोग्न तयार रहेको बताए । ‘काभ्रे कांग्रेसको सभापतिसंग जोडिएर आएका फण्डा कांग्रेसलाई कमजोर बनाउने, विवादमा ल्याउने, जनतालाई भ्रम सिर्जना गर्ने उद्धेश्यसहित आएका हुन्, दर्जनौं साथीहरुले फोनमा र भेटेर पनि यसबारेमा कुरा गर्नुभयो,’ उनले भने, ‘म त्यति कन्फिडेन्सका साथ भन्न सक्छु, चुनौती दिन्छु, प्रदेशको मन्त्री, काभ्रे कांग्रेसको सभापतिबारेको यो फण्डा प्रमाणित भयो भने उहाँको राजनीतिक जीवन त बन्दै हुने हो, म आफू पनि राजनीतिबाट सन्यास लिन्छु ।’
मन्त्री लामाका बारेमा भ्रम फैलाउन पार्टीकै ‘केही साथीहरु’ लागेको भन्दै उनले संस्कारयुक्त राजनीति गर्न अनुरोध गरे । ‘कांग्रेस विचित्रको पार्टी हो, आफ्नै साथी सक्न, आफ्नै पार्टीका साथीहरु लागे, एउटा गुटका साथीसंग कुरा गर्दा हाम्रो गुटले कतै पनि नबोल्ने निर्णय गरेको छ भन्नु भयो, कस्तो गन्धा राजनीति हो,’ उनले प्रश्न गरे, ‘पार्टी भित्र जस्तोसुकै वाद, विवाद, प्रतिवाद, सम्वाद गरौं, अधिवेशनमा व्यक्ति, व्यक्ति पिच्छे आफ्नो इच्छा पनि जाहेर गरौं तर निर्वाचन र पार्टीका साथीहरुलाई गलत आक्षेप लगाउँदा आफ्नो विचारको पक्षमा उभिन सक्नुहुन्न भने तपाईहरु राजनीतिमा लाग्नु र कांग्रेस पार्टीमा बस्नुको कुनै औचित्य छैन ।’
काठमाडौंमा ९ सय ६० ग्राम सुन भेटिएको प्रकरणमा कांग्रेस जिल्ला सभापति समेत रहेका मन्त्री तीर्थ लामालाई जोडेर अनर्गल प्रचार भएपछि उनी र कांग्रेस काभ्रेले विज्ञप्ती निकालेर खण्डन गरिसकेका छन् । काठमाडौं प्रहरी परिसरले पनि उक्त प्रकरणमा मन्त्री लामा माथि अनुसन्धान गर्नुपर्ने कुनै कारण नदेखिएको बताइसकेको छ भने आफ्ना विरुद्ध भएको अनर्गल प्रचार विरुद्ध मन्त्री लामाले कानूनी उपचार खोजेका छन् ।

प्रतिक्रिया दिनुहोस