बनेपा/ तीन तहका सरकारका फरक- फरक निर्णयका आधारमा खानी तथा क्रसर बन्द हुँदा निर्माण व्यवसायमा असर परेको निर्माण व्यवसायीले गुनासो गरेका छन् ।
निर्माण व्यवसायी संघ काभ्रेको १३ औं बार्षिक साधारणसभामा बोल्ने अधिकाशं निर्माण व्यवसायीले यस्ता निर्णयले व्यवसाय नै धरासायी भएको बताए ।
निर्माण व्यवसायी संघ काभ्रेका अध्यक्ष विजय लामाले काम गर्ने बेलामा क्रसर बन्द हुँदा व्यवसायी मारमा परेको बताए । सरकार आफैले बन्द गर्ने निर्णय गर्दा पनि छुट नपाएको उनले गुनासो गरे । उनले व्यवसायिक फर्म नविकरण गर्न सबै स्थानीय तहमा एकरुपता नभएको भन्दै नागरिकता मात्रै पेश गरेको भरमा निर्माण कम्पनीहरु दर्ता भइरहेको भन्दै चिन्ता व्यक्त गरे ।
निर्माण व्यवसायी संघ भक्तपुरका अध्यक्ष विजय देउजाले पनि खानी तथा क्रसर बन्द हुँदा निर्माण व्यवसायीहरु मर्कामा परेको दुखेसो पोखे । ‘खानी तथा क्रसरहरु किन बन्द हुन्छन्, के कारणले खुल्छन् ? त्यसको औचित्य पुष्टी हुनुपर्यो,’ उनले भने, ‘जिल्ला समन्वय समिति लगायत निकायले यसमा सहजिकरण गरिदिनुपर्यो ।’
नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय सदस्य उपेन्द्र घिसिङले सरकारले लगाएको कामको भुक्तानी अझै नभएको भन्दै त्यसको प्रत्यक्ष मारमा व्यवसायी र मजदुर भएको बताए । निर्माण सामाग्री र पेट्रोलियम पदार्थको मूल्य बढ्दा पनि निर्माण कार्यको मूल्य समायोजन नभएको भन्दै सिंहदरबार अघि नै प्रदर्शन गर्ने दिन आउने बताए । जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतमले काम जिल्ला लिएर समयमा नै पुरा नगर्ने प्रवृती पनि रहेको भन्दै धुलिखेलदेखि खाँवासम्मको बाटोको कारण निर्माण व्यवसायी आलोचित हुनुपर्ने अवस्था आएको बताए ।
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीका समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराए ।
प्रतिक्रिया दिनुहोस