प्रहरीले १२ घण्टाभित्र पक्राउ गर्यो हत्या अभियुक्त

नौलो समाचार संवाददाता
२०८० आश्विन १५, सोमबार मा प्रकाशित १३५८ पटक पढिएको
प्रहरीले १२ घण्टाभित्र पक्राउ गर्यो हत्या अभियुक्त

बनेपा / प्रहरीले हत्यामा संलग्न अभियुक्तलाई १२ घण्टाभित्रै पक्राउ गरेको छ । बनेपा नगरपालिका वडा नं १ टिमुरेचौर, घिमिरे गाउँमा मृत फेला परेका सिन्धुली जिल्लाको मरिण गाउँपालिका वडा नं ५ का ५५ बर्षीय दूधलाल थिङको हत्यामा संलग्न चागुनारायण नगरपालिका वडा नं ८ का २१ बर्षीय समिर राय र बनेपा नगरपालिका वडा नं १ का २२ बर्षीय इश्वर विकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता प्रहरी नायब उपरिक्षक (डिएसपी) राजकुमार श्रेष्ठले जानकारी दिए । दुवै जनाले मारेको स्विकार गरेको प्रहरीले जनाएको छ ।
उनका अनुुसार, असोज १४ गते विहान ७ बजेर ५० मिनेटमा एक व्यक्ति मृत अवस्थामा फेला परेको सूचनाका आधारमा प्रहरी चौकी नालाबाट प्रहरी टोली खटिएको थियो । लगत्तै इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी नायब उपरिक्षक (डिएसपी) लालध्वज सुवेदीको नेतृत्वमा प्रहरी घटनास्थल पुगेको थियो । घटनाको गाम्भीर्यता बुझेर प्रहरी प्रधान कार्यालयको केनाइन महाशाखाबाट समेत प्रहरी निरिक्षक डा.चेतनारायण ज्ञवालीको कमाण्डमा समेत टोली खटिएको थियो । ‘घटनाको प्रकृति हेर्दा कुटपिटबाट मृत्यु भएको देखियो,’ डिएसपी श्रेष्ठले भने, ‘ जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक र ईलाका प्रहरी कार्यालय बनेपा समेतबाट सादा पोशाकमा प्रहरी परिचालन गरी घटनास्थल वरपर निरन्तर निगरानी, घटनाको सुक्ष्म अध्ययन, गोप्य सुचना संकलनबाट घटनामा संग्लन अभियुक्तलाई १२ घण्टाभित्रै पक्राउ गर्न सफल भयौं ।’ डिएसपी सुवेदीका अनुसार, मादक पदार्थ सेवन गरेका राय र विकको सोही स्थानमा मजदुरी गर्दै आएका थिङ विच भनाभन भएको थियो । राय र विकले क्षणिक आवेग नियन्त्रण गर्न नसकि थिङलाई भुईमा लडाई पछाडीबाट टाउकोमा ढुंगा प्रहार गरी फरार भएका थिए । घटना घटाउदा बखत उनीहरुले प्रयोग गरेको कपडा समेत प्रहरीले बरामद गरेको छ ।
छोरा ग्याम्जोको जाहेरीको आधारमा प्रतिवादीहरुलाई मुलुकी फौजदारी अपराध संहिता ऐन २०७४ को ज्यान सम्बन्धी कसुरमा म्याद थप गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस