धुलिखेल/ दशैं, तिहार लगायतका चाडपर्वलाई ‘सुरक्षित’ बनाउन जनप्रतिनिधी, प्रशासन र सुरक्षा निकायहरुले ‘तदारुकता’ देखाएका छन् । यातायात व्यवसायी र सरोकारवालासहितको छलफलले दशैं, तिहार लगायतका चाडपर्वमा हुन सक्ने सुरक्षा जोखिमका बारे छलफल गरेर यसकोे पूर्व तयारी समेत गरेको छ ।
चाडपर्व लक्षित सुरक्षा योजना, ट्राफिक व्यवस्थापन लगायतका बिषयमा छलफल गरी निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन् । उनका अनुसार, बैठकले शान्ती सुरक्षा, आवस्यक उपभोग्य वस्तुको आपूर्ति र विक्री वितरण सहज बनाउने, कृतिम अभाव, कालोबजारी, अस्वभाविक मूल्यबृद्धि नियन्त्रण गर्न र सवारी आवागमन सुरक्षित बनाउन स्थानीय तह, जनप्रतिनिधी र सुरक्षा समितिसंग सहकार्य, समन्वय र सूचना आदानप्रदान गर्ने निर्णय भएको छ । एकिकृत रुपमा बजार अनुगमन गर्ने, विद्युत, टेलिफोन, इन्टरनेट, स्वास्थ्य सेवा, एम्बुलेन्स जस्ता अत्यावश्यक सेवा सुचारु राख्ने, ३ तहका सरकारको समन्वयमा सडक सहज बनाउन अबरोध हटाउने, खाल्डाखुल्डी पुर्ने, सडक सुरक्षाबारे अभिमुखिकरणका साथै ट्राफिक सप्ताह सञ्चालन गर्ने, चाडपर्वको मौका छोपेर बढी भाडा असुल्ने सवारीसाधनलाई कार्वाही गर्ने र प्रचलित भाडादर टास्ने लगायत निर्णय भएको प्रजिअ शर्माले जानकारी दिइन् ।
बैठकमा जनप्रतिनिधीहरुले आफ्नो धारणा राख्दै नागरिकलाई सुरक्षित राख्नको लागि आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । जिल्ला समन्वय समितिका प्रमुख दिपककुमार गौतमले अरु बेला नियमित हुने बजार अनुगमन चाडपर्वको समयमा विशेष बनाइनुपर्ने बताए । उनले अन्य समयमा जेष्ठ नागरिक, विद्यार्थीको लागि सार्वजनिक यातायातमा हुँदै आएको सहुलियत चाडपर्वको बेलामा पनि हुनुपर्ने बताए । नमोबुद्ध नगरप्रमुख कुनसाङ लामाले चाडपवको बेलामा नागरिकले दुख नपाओस् भनेर आफूहरुले काम थालिसकेको बताए । उनले वीपी राजमार्गमा नमोबुद्धतर्फ खाल्डाखुल्डी नभएको भन्दै ग्रामिण सडकहरु समेत सुधार गर्न थालिएको बताए । उनले चाडपर्वको समयमा राजमार्गमा चाप हुने भएकाले यात्रु ठगिने अवस्था आउन सक्ने भन्दै बजार अनुगमन गरिदिन सरोकारवालाको ध्यानाकर्षण गराए । पनौती नगर प्रमुख रामशरण भण्डारीले टिपरले पानी चुहाएका कारण सडकमा जोखिम बढेको बताए । जिल्ला समन्वय समिति काभ्रेका उपप्रमुख रिमबहादुर तामाङले वीपी राजमार्गमा सवारीको चाप हुने भएकोले धुलिखेल–भट्टेडाँडा–काभ्रेभञ्ज्याङ सडक स्तरोन्नती गरी प्रयोगमा ल्याइनुपर्ने तर्क गरे । रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले वीपी राजमार्ग अन्तर्गत रोशी क्षेत्रमा पर्ने ३ वटा पुल एकतर्फी मात्रै भएकोले त्यसले सवारी जाम गराउन सक्ने भन्दै व्यवस्थापनको लागि सहयोग गर्न तयार रहेको प्रतिवद्धता जनाए । बेथानचोक गाउँपालिका अध्यक्ष भगवान अधिकारीले सामान्य बिषय व्यवस्थापन गर्न नसक्दा मानिसले ज्यान गुमाइरहेको भन्दै सबै बिषयको सुक्ष्म व्यवस्थापन हुनुपर्ने बताए । भुम्लु गाउँपालिका अध्यक्ष प्रेमबहादुर भुजेलले खाद्य सुरक्षालाई प्राथमिकतामा राखेर बजार अनुगमनलाई तिव्रता दिने बताए । मण्डनदेउपुर नगर उपप्रमुख विष्णुमणि नेपालले विद्युत आपूर्ती नियमित नहुँदा त्यसले अपराध बढाउन सक्ने भन्दै सचेत हुन जरुरी रहेको बताए । नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रिराज तिमल्सिनाले स्थानीय तह, सुरक्षा निकाय र सरोकारवालाहरु सबैले आफ्नो अधिकतम स्रोत र साधन प्रयोग गरेर जनतालाई चाडपर्वमा सुरक्षित महशुस गराउनुपर्ने बताए ।
नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक भोला अर्यालले चाडपर्वका समयमा मात्रै नभइ अन्य सयममा पनि अनुगमनलाई तिव्रता दिनुपर्ने बताए । नेपाली कांग्रेस काभ्रेका उपसभापति रमेश हुमागाईले सबै क्षेत्रले आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गरे समस्या समाधान हुने भन्दै यसपटक चाडपर्वमा चोरी, डकैती, दुव्र्यवहार, आत्महत्या नियन्त्रण हुने विश्वास व्यक्त गरे । नेकपा एमालेका जिल्ला सचिवालय सदस्य प्रकाश रोक्काले सार्वजनिक बस र टिपरले अत्याधिक भार बोक्नाले जोखिम हुने भन्दै नियामक निकायले नियन्त्रण गर्नुपर्ने बताए । राप्रपाका तर्फबाट पूर्णबहादुर विश्वकर्माले चाडपर्वमा यात्रु बढी बोक्ने र वढी भाडा असुल्ने समस्य हुने भएकोले नियन्त्रण गर्न अनुरोध गरे ।
जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक भाग्येन्द्र पुरुष ढकालले सवारी साधन र यात्रुको चाप हुने स्थानको लागि कार्ययोजना बनाइसकेको र चाडपर्व लक्षित सुरक्षा योजना समेत बनिसकेकोले सुरक्षित महशुस गरेर चाडपर्व मनाउन अनुरोध गरे । आत्महत्या, यौन दुव्र्यवहार र साइबर अपराध बढेको भन्दै उनले स्थानीय तह सम्मै पुगेर अनुशिक्षण गरिने बताए । जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरिक्षक जनार्दन घिमिरेले निर्माणाधीन सडकका कारण केही जोखिम भएपनि आवागमन सहज र सुरक्षित बनाउन प्रहरीले काम गर्ने बताए । सुर्यविनायक–धुलिखेल धुलिखेल–सिन्धुली–बर्दिबास सडक निर्माण आयोजनाका इञ्जिनियर माधव पौडेलले साँगा र जनागालमा निर्माणाधीन सडकका कारण केही समस्या भएको स्विकार्दै दशैं अघि नै समाधान हुने दाबी गरे । खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालय धुलिखेलका खाद्य निरिक्षक पूर्णप्रसाद पौडेलले उजुरीका आधारमा र शंका लागेका स्थानमा नमूना संकलन गरी खराब पाइए कार्वाही गरिएको बताए । घरेलु तथा साना उद्योग कार्यालय काभ्रेका प्रमुख यादवनाथ आचार्यले नियमित अनुगमन गरी दोषी पाइए कार्वाही अघि बढाइएको बताए ।
काभ्रे उद्योग वाणिज्य संघका महासचिव रविन्द्र बैदारले उत्पादक कम्पनीका कारण पनि बजारमा समस्या भएको भन्दै अनुगमन नियमित हुनुपर्ने बताए । धुलिखेल उद्योग वाणिज्य संघका कार्यालय प्रमुख अवनीश्वर कार्कीले स्वच्छ व्यापारिक कृयाकलाप गर्न व्यवसायीलाई सचेत गराउँदै आएको बताए । गणेश हिमाल तराई यातायात प्रालिका अध्यक्ष आत्माराम थापाले ग्रामिण सडकहरुको दुरावस्था रहेका कारण सहजीकरण गरिदिन स्थानीय तहलाई अनुरोध गरे । पूर्व अरनिको यातायात प्रालिका वरिष्ठ उपाध्यक्ष हरिभक्त श्रेष्ठ एक रुपैयाँ पनि भाडा बढी नलिएको भन्दै त्यसो पाइए कार्वाही गर्ने बताए ।
प्रतिक्रिया दिनुहोस