स्त्री तथा प्रसुती रोग विशेषज्ञको अन्तराष्ट्रिय सम्मेलन धुलिखेलमा

नौलो समाचार संवाददाता
२०८० आश्विन २२, सोमबार मा प्रकाशित १६३४ पटक पढिएको
स्त्री तथा प्रसुती रोग विशेषज्ञको अन्तराष्ट्रिय सम्मेलन धुलिखेलमा

धुलिखेल/ स्त्री तथा प्रसुती रोग विशेषज्ञहरुको अन्तराष्ट्रिय सम्मेलन धुलिखेलमा हुने भएको छ । नेपाल र जर्मनीमा रहेका स्त्री तथा प्रसुती रोग विशेषज्ञहरुको संस्था (GNESOG) को आयोजनामा असोज २४ र २५ गते धुलिखेल अस्पतालको अडिटोरियम हलमा सम्मेलन हुने वरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ समेत रहेका धुलिखेल अस्पतालका मिडिया तथा सञ्चार विभाग प्रमुख डा. सुमनराज ताम्राकारले जानकारी दिए ।

‘महिलाको स्वास्थ्य र स्वस्थता सम्वद्र्धन गर्ने’ नारा सहित हुने सम्मेलनमा निःसन्तान, रजनोवृत्ति, पाठेघरको जन्मजात विकृती, गर्भवती बेलाका मेडिकल समस्याहरु, प्रसवोत्तर अधिक रक्तश्राव, स्त्री रोग सम्बन्धी व्यापारोस्कोपी शल्यक्रिया, इन्डोमेट्रिओसिस, पाठेघरमा मास पलाउने, असामान्य महिनावारीबारे छलफल हुने धुलिखेल अस्पतालका स्त्री तथा प्रसुती विभाग प्रमुख डा. आभा श्रेष्ठले जानकारी दिइन् । देशभरका १०० जना सहभागी हुने अपेक्षा आयोजकको छ ।

गर्भावस्थाका जटिलता, गर्भावस्थामा हुने मधुमेह, थाइराड लगायतका बिषयमा नेपाल र जर्मनीका गरि करिब १ दर्जन विशेषज्ञहरुले कार्यपत्र प्रस्तुत गर्नछन् । सम्मेलनपूर्व सहभागीहरुलाई स्त्री रोग सम्बन्धी व्यापारोस्कोपी शल्यक्रिया सीप अभिवृद्धिका लागि तीन दिने सैद्धान्तिक एवं व्यवाहारिक तालिम समेत सञ्चालन गरिएको छ । प्रत्येक ३ बर्षमा गर्ने लक्ष्यसहित सन् २०१७ मा पहिलो पटक भएको सम्मेलन कोरोना महामारीको कारण हुन सकेको थिएन ।

सम्मेलनका सहभागीहरुले आ–आफ्नो कार्य क्षेत्रमा गई महिला स्वास्थ्य सेवाको गुणस्तर वृद्धिमा सघाउ पु¥याउने अपेक्षा राखिएको छ । संस्थाले नेपाली महिलाहरुको जीवन स्वस्थ बनाउने अभियानमा सघाउ पु¥याउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस