बनेपा/ नेपाली कांग्रेसका केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईले शिक्षकका केही माग संवोधन गर्न संविधान नै संशोधन गर्नुपर्ने हुन सक्ने बताएका छन् ।
नेपाल शिक्षक संघ काभ्रेले बनेपामा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै उनले स्थानीय तह मातहत नबस्ने भन्ने शिक्षकको माग पेचिलो भएको तर्क गरे । ‘शिक्षकलाई स्थानीय तहले शासनले गर्ने हैन, संघले गर्ने हो भन्ने मुद्धा पेचिलो भएको छ, ती माग पुरा हुनेमा शंसय छ’ उनले भने, ‘त्यसको लागि संविधान नै संशोधन गर्नुपर्ने हुनसक्छ, त्यसलाई राजनीतिक रंग दिन खोजिएको छ, यही मुद्धालाई लिएर धमिलो पानीमा माछा मार्न खोजिएको छ ।’ शिक्षाजस्तो महत्वपूर्ण क्षेत्र केन्द्रले नै हेरेर भुगोल, जनसंख्या, समस्याका आधारमा गुरुयोजना तयार गरेर कार्यान्वयन नगरे सिंगो राष्ट्र निर्माण नहुने आफ्नो आफनो व्यक्तिगत विचार रहेको बताए । स्थानीय तह र बौद्धिक क्षेत्रले छुट्टाछुट्टै बहस थालेको भन्दै उनले स्थानीय तह मातहत नबस्ने भनेको ‘व्यक्ति विशेष’ भनेर बुझियो भने त्यो गलत हुने बताए । उनले शिक्षकका माग प्रति आफू सधै सकरात्मक भएको भन्दै शिक्षक आन्दोलन प्रति आफ्नो सधै समर्थन रहेको बताए ।
बाग्मती प्रदेश सरकारका खानेपानी, उर्जा तथा सिंचाइमन्त्री तीर्थ लामाले शिक्षकका हरेक मुद्धा सम्बोधन गर्न कांग्रेस सधै प्रतिवद्ध रहेको बताए । उनले शिक्षकका माग सम्बोधन गर्न आफूले व्यक्तिगत र राजनीतिक रुपमा लविङ गर्ने बताए ।
कार्यक्रममा नेपाली कांग्रेस काभ्रेका नेता अच्युतप्रसाद पौडेल, नेपाल शिक्षक संघका उपमहासचिव नारायण तिमल्सिना, नेपाल शिक्षक संघ बाग्मती प्रदेशका महासचिव राजेशराज महत, नेपाल शिक्षक संघ काभ्रेका अध्यक्ष शम्भुप्रसाद घिमिरे, उपाध्यक्ष रुपा थापा लगायतले शिक्षकका माग सम्बोधन गर्न राजनीतिक नेतृत्व गम्भीर हुनुपर्ने बताए ।
कार्यक्रममा केन्द्रीय सदस्य भएकोमा प्रमुख अतिथी हुमागाईलाई सम्मान गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस