दुर्घटना बढेको भन्दै दशैंभर टिपर सञ्चालनमा रोक

नौलो समाचार संवाददाता
२०८० कार्तिक १, बुधबार मा प्रकाशित ११८६ पटक पढिएको
दुर्घटना बढेको भन्दै दशैंभर टिपर सञ्चालनमा रोक

बनेपा \ चाडपर्वको समयमा दुर्घटना बढेको भन्दै जिल्ला प्रशासन कार्यालय काभ्रेले टिपर सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ ।

घटस्थापनाकै दिन टिपरको ठक्करबाट एकजनाको ज्यान गएपछि जिल्ला प्रशासन कार्यालय काभ्रेले कार्तिक २ गते विहान ५ बजेदेखि कार्तिक १३ गते राती ९ बजेसम्म टिपर सञ्चालनमा रोक लगाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन् ।

प्रजिअ शर्माको संयोजकत्व, जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतमको उपस्थितीमा बाग्मती टिपर व्यवसायी संघ र अन्य यातायात व्यवसायी समेतको उपस्थितीमा भएको छलफलमा चाडपर्वको समयमा सवारीसाधनको बाक्लो आवतजावत हुने, ट्राफिक व्यवस्थापन गर्न जटिलता पैदा हुने भएकाले जिल्लाभित्र र जिल्लाभित्रको अरनिको राजमार्ग र वी.पी राजमार्गमा टिपर सञ्चालन गर्न रोक लगाउने निर्णय भएको हो ।

दुर्घटना बढ्दै गएको भन्दै बैठकले टिपर तथा सार्वजनिक यातायातका चालकहरुलाई सचेतना कक्षा सञ्चालन गर्ने निर्णय गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी निरिक्षक जनार्दन घिमिरेका अनुसार, असोज महिनामा भएका २५ सवारी दुर्घटना मध्ये ६ दुर्घटनामा टिपर संलग्न छन् । ७ जनाको ज्यान गएकोमा ३ जनाले टिपरको कारण ज्यान गुमाएका छन् ।


प्रतिक्रिया दिनुहोस