राष्ट्रपति पौडेलले गरे पलाञ्चोक भगवतीमा पूजापाठ र दर्शन

नौलो समाचार संवाददाता
२०८० कार्तिक ५, आईतबार मा प्रकाशित ६२४ पटक पढिएको
राष्ट्रपति पौडेलले गरे पलाञ्चोक भगवतीमा पूजापाठ र दर्शन
तस्वीर : देवराज केसी

पाँचखाल\ नवरात्री अन्तर्गत महाअष्टमीको दिन आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले पाँचखाल ९ साठीघरमा रहेको पलाञ्चोक भगवती मन्दिर पुगेर दर्शन र पूजापाठ गरेका छन् । विहान ८ बजेर ४५ मिनेटमा मन्दिर प्रवेश गरेर १५ मिनेट विशेष पुजा अर्चना गरेका थिए ।

परिवारका सदस्य, प्रेस सल्लाहकार किरणकुमार पोखरेल लगायत सचिवालयको साथमा आएका उनलार्ई जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतम,पाँचखाल नगर प्रमुख महेश खरेल, उपप्रमुख सुर्यमाया दनुवार, प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा लगायत सुरक्षा निकायका प्रमुखहरुले स्वागत गरेका थिए । हेलिकप्टरबाट नेपाली सेनाको विरेन्द्र शान्ती कार्य तालिम केन्द्रमा अवतरण गरेपछि स्कर्टिङमा मन्दिर पुगेका थिए ।

राष्ट्रपति निर्वाचित भएपछि पलाञ्चोक भगवती आएको यो पहिलो पटक हो । मुलुक संघीय गणतन्त्रात्मक व्यस्थामा गएपछि राष्ट्रप्रमुख आएको यो पाचौं पटक हो । २०३१ जेठ र २०३२ मंसिरमा तत्कालिन राजा विरेन्द्रले मन्दिर दर्शन गरेर पूजापाठ गरेका थिए । तत्कालिन राजा ज्ञानेन्द्र २०५८ भदौमा मन्दिर दर्शनका लागि आएका थिए । २०७१ कार्तिकमा तत्कालिन उपराष्ट्रपति परमानन्द झाले मन्दिर दर्शन गरेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

वि. सं ४२५ मा राजा मानदेवको पालामा बनेको मन्दिर २०७२ सालको भूकम्पमा क्षति भएपछि २०७३ पुषमा पुरातत्व विभागमार्फत जीर्णोदार गरिएको थियो ।

नमोबुद्ध नगरपालिकास्थित बुच्चाकोटमा रहेको शिला तिब्बततर्फ लाने क्रममा आफै पलाञ्चोमा आएर रहेको र भरियालाई राती सपनामा मेरो स्थान त्यही हो भनेपछि सो स्थानमा शिला स्थापना भएको किवंदन्ती छ । पछि सोही शिलाका आधारमा मुर्तिको रुप दिएर मन्दिर स्थापना भएको थियो । अन्त बनाउन नसकोस् भनेर कलाकारको दाहिने हात काटिएको किवंदन्ती रहेको छ । सोही कलाकारले शोभा, नाला र नक्साल भगवतीको मूर्ती बनाएका थिए । मन्दिर दर्शन गरे मनोकामना पुरा हुने, शुख शान्ती हुने धार्मिक विश्वास छ ।


प्रतिक्रिया दिनुहोस