भूकम्पले भत्किएका मन्दिर पुनर्निर्माण, अर्थमन्त्रीले गरे उद्धघाटन

नौलो समाचार संवाददाता
२०८० कार्तिक ६, सोमबार मा प्रकाशित ७९३ पटक पढिएको
भूकम्पले भत्किएका मन्दिर पुनर्निर्माण, अर्थमन्त्रीले गरे उद्धघाटन

मण्डनदेउपुर \ २०७२ सालको महाभूकम्पका कारण भत्किएका मन्दिरको पुनर्निर्माण गरिएको छ ।

मण्डनदेउपुर १०, कोटथुम्कामा रहेको उमादेवी र भीमसेन मन्दिर पुनर्निर्माण गरिएको हो । पुरातत्व विभाग, मण्डनदेउपुर नगरपालिकाको सहयोगमा मन्दिर पुनर्निर्माण गरिएको हो ।

कोटथुम्का अवस्थित उमादेवी मन्दिर र केही तल रहेको कश्यपेश्वर महादेवकोे आफ्नै किंवदन्ती छ । सत्य युगमा महादेवले आफ्नी पत्नी सतिदेवीको मृत्युपछि उनको शव बोकेर पृथ्वी भ्रमण गर्ने क्रममा यस ठाउँमा पुगेपछि सतिदेवीको मुटु पतन भएको र यहाँ उमादेवी र कश्यपेश्वर महादेवको उत्पति भएको कुरा स्वस्थानीमा वर्णन गरिएको छ ।

मन्दिर उद्धघाटन गर्दै अर्थमन्त्री प्रकाशशरण महतले मण्डनदेउपुर नगरपालिकाको कृषि, खानेपानी, धार्मिक मठमन्दिर, सडक लगायतका विकास निर्माणका लागि सरकार सहयोग गर्न सधै तयार रहेको बताए । महादेवस्थानदेखि चण्डेनी थुम्का हुँदै हल्देछाप र दोलालघाट जोड्ने र फेदीदेखी चण्डेनी हुँदै इन्द्रावती जोड्ने सडकलाई पक्की बनाउन सरकारले बजेट छुट्याउने प्रतिवद्धता पनि जनाए । स्थानीय तहमा सञ्चालित विकास योजनाबारे जानकारी गराउँदै नगर उपप्रमुख विष्णुमणि नेपालले संघीय सरकारको तर्फबाट सहयोगको अपेक्षा गरेको बताए ।

बाग्मती प्रदेशका श्रम तथा यातायात मन्त्री लक्ष्मण लम्सालले सबै तह मिलेर अगाडी बढे जिल्लाको विकासको लागि समस्या नहुने बताए । नगरप्रमुख टोकबहादुर वाइवाले मण्डनदेउपुर जिल्लामै ऐतिहासिक र पर्यटकीय ठाउँ भएर पनि पर्याप्त प्रचार नभएका कारण विकासमा पछि परेको तर्क गरे ।


प्रतिक्रिया दिनुहोस