आज विजयादशमी, टीका प्रसाद ग्रहण गर्ने शुभ साइत बिहान ११ बजेर ०२ मिनेटमा

नौलो समाचार संवाददाता
२०८० कार्तिक ७, मंगलबार मा प्रकाशित ७८१ पटक पढिएको
आज विजयादशमी, टीका प्रसाद ग्रहण गर्ने शुभ साइत बिहान ११ बजेर ०२ मिनेटमा
तस्वीर : इन्टरनेटबाट

बनेपा — बडादशैंको अन्तिम दिन आज विजयादशमी मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा रातो टीका एवं जमरा लगाएर मनाइँदै छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार टीका प्रसाद ग्रहण गर्ने शुभ साइत बिहान ११ बजेर ०२ मिनेट रहेको छ ।

आफैंमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्यतया साइत जुराउन नपर्ने बताइएको छ । दसैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद जमरा विजयादशमीका दिन मान्यजनबाट लगाइन्छ । आज बिहान १० बजेर ३७ मिनेटमा देवी बिसर्जनको साइत रहेको समितिले जनाएको छ ।

घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा थापेर मनाइन्छ । आज नभ्याउनेले कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका ग्रहण गर्न सक्नेछन् ।

त्रेता युगमा आजैका दिन भगवान् रामले असत्यको प्रतीक बनेका रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन सुरु गरिएको धार्मिक विश्वास छ । यसैले आजको दिनलाई विजयको प्रतीकका रूपमा पनि लिइन्छ । मान्यजन तथा ठूलाबडाको हातबाट नव दुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उहाँहरूबाट यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि एवं दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ ।


प्रतिक्रिया दिनुहोस