नमोबुद्धमा ३ वटा पालिकाको त्रैमासिक समिक्षा

नौलो समाचार संवाददाता
२०८० कार्तिक १६, बिहिबार मा प्रकाशित १०९४ पटक पढिएको
नमोबुद्धमा ३ वटा पालिकाको त्रैमासिक समिक्षा

नमोबुद्ध\ जिल्लाका ३ स्थानीय तहको प्रथम त्रैमासिक अवधीको समिक्षा गरिएको छ । जिल्ला समन्वय समिति काभ्रेको आयोजनामा नमोबुद्ध नगरपालिका, रोशी गाउँपालिका र तेमाल गाउँपालिकाको आर्थिक बर्ष २०८०\८१ को प्रथम त्रैमासिक अवधीको समिक्षा गरिएको हो ।

नमोबुद्ध नगरपालिकाको व्यवस्थापनमा भकुण्डेवेशीमा भएको समिक्षामा जिल्ला समन्वय समितिका पदाधिकारी, स्थानीय तहका प्रमुख,उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, राजनीतिक दलका प्रमुख, वडाअध्यक्ष, सञ्चारकर्मी र कर्मचारीको उपस्थिती थियो । समिक्षामा चालु आर्थिक बर्षको ३ महिनाको अवधीमा भएको आर्थिक, भौतिक प्रगतिको समिक्षा गरिएको हो ।

रोशी गाउँपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत रामबहादुर तामाङ र तेमाल गाउँपालिकाकोतर्फबाट प्रमुख प्रशासकीय अधिकृत राजन पाण्डे र नमोबुद्ध नगरपालिकाको तर्फबाट योजना अधिकृत विष्णुकुमार अधिकारीले प्रस्तुती गरेका थिए ।

कार्यक्रमको उद्धघाटन गर्दै खानेपानी, उर्जा तथा सिंचाइमन्त्री तीर्थ लामाले जिल्लाको विकासको लागि लागि सबै पक्ष एकजुट हुनुपर्ने बताए । उनले आफूले प्रदेश सरकारबाट काभ्रेमा उल्लेख्य बजेट विनियोजन गराएको भन्दै ती योजना सफल बनाउन सबै तहले सहयोग गर्नुपर्ने बताए ।

जिल्ला समन्वय समितिका प्रमुख दिपक गौतमले जिल्लाका १३ वटै स्थानीयलाई ६ वटा कल्ष्टरमा विभाजन गरेर प्रथम त्रैमासिक अवधीको समिक्षा गरिने बताए । प्राप्त सुझाव र निष्कर्ष प्रदेश र संघ सरकारलाई पनि पठाउने उनले जानकारी दिए ।

नमोबुद्ध नगरपालिका प्रमुख कुनसाङ लामाले योजना तर्जुमादेखि नै आफूले सबै नगरपालिकामा सबै राजनीतिक दललाई समावेश गराएर अघि बढेको भन्दै सबैका सामुहिक प्रयासमा विकास गरिने बताए ।

जिल्ला समन्वय समितिका उपप्रमुख रिमबहादुर तामाङले यस्ता समिक्षाले एक अर्को पालिकाबाट सिकाइ हुने धारणा राखे ।

रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले योजना बनाउँदा जनतालाई केन्द्रीत गरेर बनाउने भन्दै संविधान, स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकार
अनुसार नै काम अघि बढाएको बताए ।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले विकास र सेवा प्रवाहमा शान्ती सुरक्षा पहिलो शर्त भएको भन्दै स्थानीय सरकारसंग हातेमालो गरेर अघि बढ्ने बताइन् ।

तेमाल गाउँपालिका उपाध्यक्ष दलमान (डिएम) थोकरले संघ र प्रदेश सरकार समेतको समन्वयमा गाउँपालिकामा विभिन्न खाले योजना सञ्चालन गरिएको बताए ।

नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष बद्रिराज तिमल्सिनाले स्थानीय तहका कामकारबाही गतिविधीलाई सुक्ष्म रुपमा अध्ययन गरिरहेको भन्दै सञ्चार क्षेत्रले रचनात्मक प्रतिपक्षको भुमिका खेल्ने बताए ।


प्रतिक्रिया दिनुहोस