विश्व सम्पदा सूचीमा सूचीकृत हुन ‘प्रकृयागत’ अघि बढ्यो पनौती

नौलो समाचार संवाददाता
२०८० कार्तिक २१, मंगलबार मा प्रकाशित ८९४ पटक पढिएको
विश्व सम्पदा सूचीमा सूचीकृत हुन ‘प्रकृयागत’ अघि बढ्यो पनौती

पनौती– पनौती नगरपालिकाको बजार क्षेत्र (वडा नं ७) लाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पनौती नगरपालिकाले प्रकृयागत तयारी थालेको छ ।
सूचीकरणको मापदण्ड पुरा गर्न पनौती नगरपालिकाले विभिन्न कृयाकलाप सञ्चालन गरेको हो ।

२०५४ सालमा साविक पनौती गाविसलाई संरक्षित स्मारक क्षेत्र घोषणा गरिएपनि विश्व सम्पदा सूची सूचीकृत हुन सकेको थिएन । स्मारक क्षेत्रभित्र रहेका घरहरूमा सिमेन्ट प्रयोग, छानोसहितको घरको उचाइ ३५ फिट हुनुपर्नेमा सोभन्दा बढी उचाइको घर निर्माण, स्मारक क्षेत्रभित्रका कतिपय निजी तथा सार्वजनिक भवन सम्पदामैत्री नभएका कारण विश्व सम्पदा सूचीमा सूचीकरण हुन नसकेको हो ।

नगर प्रमुख रामशरण भण्डारीले विश्व सम्पदा सूचीमा हुनको लागि सो क्षेत्रका घरहरु सम्पदामैत्री निर्माण गर्न प्रोत्साहन गरिएको बताए । सबैको सहभागिता र सहयोग बिना सम्भव नहुने भन्दै उनले समुदायस्तरमा छलफल चलाइएको बताए । उनका अनुसार, हालसम्म युनेस्कोका नेपाल प्रतिनिधि क्रिष्टियन मनहर्टले हालै पनौतीका ऐतिहासिक, धार्मिक तथा पुरातात्विक सम्पदाको अवलोकन गरिसकेका छन् । शनिवार मात्रै संघीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री सुदन किरातीलाई पनौतीको संरक्षित स्मारक क्षेत्रको भ्रमण गराउँदै पुरातात्विक महत्वको उक्त क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउनको लागि पहलकदमी र यसको संरक्षण, संबर्द्धनका लागी समेत आग्रह गरिएको बताए ।

नगरपालिकाले सम्पदा क्षेत्र संरक्षण, प्रवर्धन गर्न सम्पदा शाखाको स्थापना गर्नुका साथै स्मारक क्षेत्रभित्र रहेका पुराना शैलीमा निजी भवनको संरक्षण तथा बाहिरी आवरण सम्पदामैत्री बनाउनेसम्बन्धी प्रोत्साहन मापदण्ड २०७७ जारी गरेको छ । नगरपालिकाले निजी भवनको संरक्षण तथा बाहिरी आवरण सम्पदामैत्री बनाउने घरधनीलाई प्रोत्साहनस्वरूप रकमसमेत उपलब्ध गराउँदै आएको छ । विश्व सम्पदा सूचीमा सूचीकृत हुनका लागि स्मारक क्षेत्रभित्र मल्लकालीन तथा राणाकालीन शैलीमा घरमा पेटी, कार्नेस, बलेनी, पाखा, छाना राख्नु, प्रस्टसँग देखिने गरी इँटाको गारो हुनु, काठका आँखी झ्यालहरू हुनु, एकमुखे, तीनमुखे, पाँचमुखे गरी बिजोर कुदिएका बुट्टेदार झ्यालहरू हुनु, झिँगटीको छाना हुनु, इँटाको गारोमा प्लास्टर भएको हुनुपर्ने मापदण्ड भएको उल्लेख छ ।

सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको राष्ट्रिय अभिलेखालयका महानिर्देशक सुरेश सुरस श्रेष्ठले सूचीकृत हुनको लागि कागजपत्रहरु तयारी भइरहेको बताए ।

सम्पदा विज्ञ रवीन्द्र पुरीले विश्व सम्पदा सूचीमा सूचिकृत भए विश्वको ध्यान आकर्षित हुने र आर्थिकस्तर वृद्धि हुने बताए ।

प्रतिक्रिया दिनुहोस