नागरिकता, सेवा प्रवाह र शान्ति सुरक्षाबारे जिल्ला प्रशासन कार्यालय काभ्रेले थाल्यो स्थानीय तहमा छलफल

नौलो समाचार संवाददाता
२०८० कार्तिक २१, मंगलबार मा प्रकाशित १००८ पटक पढिएको
नागरिकता, सेवा प्रवाह र शान्ति सुरक्षाबारे जिल्ला प्रशासन कार्यालय काभ्रेले थाल्यो स्थानीय तहमा छलफल
तस्वीर : पनौती नगर प्रमुखको सचिवालय

बनेपा \ जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जिल्लाका स्थानीय तहमा नागरिकता, सेवा प्रवाह र शान्ति सुरक्षाका बारेमा छलफल थालेको छ ।

मंगलबार पनौती नगरपलिकामा जनप्रतिनिधी, राजनीतिक दलका प्रतिनिधी, कर्मचारी र सरोकारवालाको सहभागितामा जिल्ला प्रशासनका कार्यालयले गर्ने सेवा प्रवाह र पनौती नगरपालिकाको शान्ती सुरक्षाबारेमा छलफल चलाएको हो ।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले स्थानीय तह र प्रशासन कार्यालयविचको सहकार्य र समन्वय प्रभावकारी, सूचना संयन्त्र प्रभावकारी बनाउने, स्थानीय तहबाट गरिने सिफारिसमा एकरुपता कायम गर्ने, नागरिकता प्रदान गर्ने सम्बन्धमा भएका दुविधालाई हटाउने र शान्ति सुरक्षा कामय गरी अपराध न्यूनिकरणमा सहयोग पुर्याउने उद्धेश्यले छलफल गरिएको बताइन् । जिल्लाका अन्य स्थानीयमा पनि अभियानकै रुपमा लैजाने उनले बताइन् ।

पनौती नगरपालिका प्रमुख रामशरण भण्डारीले सेवा प्रवाहमा एकरुपता कायम गर्नको लागि पनौती नगरपालिकाले यो खालको कार्यक्रम पहिले देखि नै गर्न खोजेको बताए । कानून बनाउने अधिकार स्थानीय तहमा भएपनि त्यसको कार्यान्वयन प्रशासनले गर्ने भन्दै उनले दुइ संस्थाको सहकार्यले सेवा प्रभावकारी हुने बताए । सिमित श्रोत र साधन हुने स्थानीय तहले ‘जे गर्न पनि सक्ने’ भन्ने मानसिकता बनेको भन्दै सामाजिक सञ्जालमा हुने टिकाटिप्पणीले सेवा प्रभावित बनेको अनुभव सुनाए ।

छलफलमा सहभागी वडाअध्यक्षहरुले नागरिकता सिफारिस गर्दाका व्यवहारिक अप्ठ्याराका बारेमा प्रश्न गरेका थिए । जिल्ला प्रशासन कार्यालय काभ्रेका प्रशासकीय अधिकृत दिपेश खत्रीले नागरिकता सिफारिस र प्राप्ती विभिन्न पक्षबारे प्रस्तुती दिएका थिए ।

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक (एसपी) भाग्यन्द्र पुरुष ढकालले पनौती क्षेत्रको शान्ति सुरक्षाको अवस्थाबारे जानकारी दिँदै अपराध, जुवातास नियन्त्रणका साथै शान्ति सुरक्षा कायम गर्न प्रहरी सकृय रहेको बताए ।

पनौती नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत रामप्रसाद आचार्यले सेवा प्रवाहका बारेमा बुझाउन नसक्दा सेवाग्राही र कर्मचारीविच मतभेद हुने गरेको तर्क गरे ।


प्रतिक्रिया दिनुहोस