रोशी गाउँपालिकाद्वारा भूकम्प प्रभावित दुई जिल्लाको लागि पौने सात लाख सहयोग

नौलो समाचार संवाददाता
२०८० कार्तिक २३, बिहिबार मा प्रकाशित ८३३ पटक पढिएको
रोशी गाउँपालिकाद्वारा भूकम्प प्रभावित दुई जिल्लाको लागि पौने सात लाख सहयोग

रोशी \ रोशी गाउँपालिकाले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिमको लागि पौने सात लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

गाउँ कार्यपालिका बैठकले ती जिल्लामा राहतको लागि ६ लाख ७४ हजार ४ सय ३६ रुपैयाँ प्रधानमन्त्री दैवि प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको अध्यक्ष दिनेश लामाले जानकारी दिए ।

गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट एक लाख, गाउँपालिकाका जनप्रतिनिधिहरुको १५ दिनको सेवा सुविधा बराबरको रकम ३ लाख ६७ हजार २ सय ५०, अधिकृतस्तरका कर्मचारीहरुको २ दिनको तलब र सहायकस्तरका कर्मचारीहरुको १ दिनको तलब बराबरको रकम २ लाख ७ हजार १८६ गरी कूल रकम ६ लाख ७४ हजार ४ सय ३६ रुपैयाँ प्रधानमन्त्री दैवि प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय हो ।

उक्त रकम राहत कोषमा शुक्रबार जम्मा गर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर तामाङले जानकारी दिए ।

बैठकले मृतकप्रति श्रद्धाञ्जली र घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।


प्रतिक्रिया दिनुहोस