नमोबुद्ध नगरपालिकाले गर्यो सार्वजनिक सुनुवाई

नौलो समाचार संवाददाता
२०८० मंसिर ७, बिहिबार मा प्रकाशित ४३२ पटक पढिएको
नमोबुद्ध नगरपालिकाले गर्यो सार्वजनिक सुनुवाई

भकुण्डेवेशी \ नमोबुद्ध नगरपालिकाले आर्थिक बर्ष २०७९/८० मा सम्पन्न गरेका कार्यक्रम र योजनाको प्रगति, आर्थिक बर्ष २०८०/८१ का लागि स्वीकृत बार्षिक नगर विकास योजना (नीति, कार्यक्रम, बजेट) लगायतका नगरपालिकाबाट हुने सेवा प्रवाहका सम्बन्धमा सार्वजनिक सुनुवाई गरेको छ ।

बिहिबार नगरपालिकाको कार्यालयमा नगरवासी, कृयाशिल राजनीतिक दल, सामाजिक संघ संस्था, सरोकारवाला र सेवाग्राहीको सहभागीता सार्वजनिक सुनुवाई गरिएको हो ।

कार्यक्रममा योजना अधिकृत विष्णुकुमार अधिकारीले आर्थिक बर्ष २०७९÷८० चालु आर्थिक बर्षको प्रथम त्रैमासिक अवधीको को प्रगति प्रतिवेदनका साथै कार्यक्रमका बारेमा जानकारी गराएका थिए ।

कार्यक्रमका सहभागीहरुले उपभोक्ता समितिको क्षेत्राधिकार, शिक्षा क्षेत्रमा भएको अनियमितता, कर्मचारी व्यवस्थापन, विकास योजनामा सूचना पाटी नभएको, निशुल्क औषधीको दुरुपयोग, करको दर र दायरा, अव्यवस्थित बसोबासी, सुकुम्बासीको व्यवस्थापन लगायतका बिषयमा गुनासो, सुझाव र जिज्ञासा राखेका थिए । नगर प्रमुख कुनसाङ लामा, उपप्रमुख रत्नबहादुर लामा, प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद शर्माले जिज्ञासा र गुनासो सम्बोधन गरेका थिए ।

नगर प्रमुख कुनसाङ लामाले २०७९ जेठ ११ गते पदभार गरेदेखि नगरवासीको हितको लागि विभिन्न कार्यहरु गरेको जानकारी गराउँदै चुनावको बेला जनताको घरदैलोमा पुगेर गरेको प्रतिवद्धता पुरा गर्दै लगेको जानकारी दिए । उनले विकासको लागि प्रदेश र संघ सरकारसंग समन्वय गरिरहेको भन्दै सिमित श्रोतका कारण विकासका असिमित चाहना पुरा गर्न नसकिएको बताए ।

नगर उपप्रमुख रत्नबहादुर लामाले अनुमगनको जिम्मेवारी आफूलाई हुने भन्दै आफ्नो कार्यकालमा कुनै पनि कैफियत हुन नदिने बताए ।

प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद शर्माले सार्वजनिक सुनुवाई जस्ता कार्यक्रमले सुशासन र पारदर्शितामा जोड दिने भन्दै यसको महत्वबारे जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस