जेहेन्दार युवाहरु मुलुक छोडेर बाहिनु ‘चूनौती’ : प्रधानमन्त्री

प्रधानमन्त्री सबै विश्वविद्यालयहरुको पदेन कुलपति हुने व्यवस्था ‘अव्यवहारिक’
नौलो समाचार संवाददाता
२०८० मंसिर ८, शुक्रबार मा प्रकाशित ३०९ पटक पढिएको
जेहेन्दार युवाहरु मुलुक छोडेर बाहिनु ‘चूनौती’ :  प्रधानमन्त्री

धुलिखेल \ प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकले लगानी गरेर उच्च अध्ययन गराएका र विश्वविद्यालय शिक्षामा प्रवेश गर्न तयार पारेका जेहेन्दार युवाहरु नै मुलुक छोडेर बाहिरिनु मुुलुकको लागि चूनौती भएको तर्क गरेका छन् ।

काठमाडौं विश्वविद्यालयममा उपकुलपतिहरुको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले नेपालको उच्च शिक्षा चुनौतीपूर्ण संघारमा उभिएको तर्क गरे । ‘गुणस्तरीय प्राविधिक एवम् व्यवसायिक उच्च शिक्षा प्रदान गर्न आवश्यक भौतिक एवम् डिजिटल पूर्वाधार, दक्ष जनशक्ति र शिक्षापछिको रोजगारीका अवसर सिर्जनाका लागि ठूलो लगानी आवश्यक छ । त्यसका लागि राज्यले गर्ने लागनी पर्याप्त भएको छैन,’ उनले भने, ‘नेपालमा विश्वविद्यालयहरु खोल्न जत्रो होड छ, त्योभन्दा ठूलो मात्राको सङ्कट पर्याप्त विद्यार्थीको अभावले निम्त्याउँदै छ । यस परिस्थितिमा खासगरी पूर्ण सरकारी अनुदानमा चल्ने सबै विश्वविद्यालयहरुले यो चुनौतीलाई सुधारको अवसरका रुपमा लिनुपर्दछ ।’ नेपाललाई उच्च शिक्षाको ‘हब’ बनाउने परिकल्पनालाई व्यवहारमा अनुवाद गर्न आवश्यक नीतिगत र संरचनागत पूर्वाधारहरुमाथि थप गम्भीर र समाधानमुखी प्रस्तावनाको आवश्यकता औल्याए ।

उच्च शिक्षालाई प्रत्यक्ष दलगत राजनीतिको क्रिडास्थल हुन दिन नहुने प्रस्ताव वास्तवमा नै कार्यान्वयन हुन मुलुकका सबै प्रमुख राजनीतिक दलहरुको पहल, सहकार्य र समान सोचको आवश्यकता रहेको बताउँदै प्रधानमन्त्री सबै विश्वविद्यालयहरुको पदेन कुलपति हुने व्यवस्था ‘अव्यवहारिक’ भएको तर्क गरे ।

नेपालको उच्च शिक्षालाई नेतृत्व गर्ने विश्वविद्यालयका उच्च पदाधिकारी र विद्वानहरुलाई एकै थलोमा आमन्त्रण गरेर ‘उच्च शिक्षाका मापदण्डहरुमा एकरुपता र अन्तर्राष्ट्रियकरण’को सार विषयमाथि छलफल गर्ने प्रयास अत्यन्तै समसामयिक र सह्रानीय भएको तर्क गर्दै विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री दाहालले काठमाडौं विश्वविद्यालयले आगामी महिना आयोजना गर्न लागेको एशोसियसन अफ इण्डियन युनिभर्सिटिजको उत्तरपूर्वीय क्षेत्रका २ सय ५० भन्दा बढी विश्वविद्यालयका उपकुलपतिहरुको सम्मेलनको तयारी र त्यसमा प्रस्तुत गर्ने नेपालको राष्ट्रिय धारणा बनाउन कार्यक्रम सहयोगी हुने विश्वास व्यक्त गरे ।

कार्यक्रमबाट मुलुकले उच्च शिक्षाको भविष्यको गति र दिशाबारे ठोस दूरदृष्टि प्राप्त हुने अपेक्षा समेत गरे ।

सम्मेलनमा विभिन्न २२ विश्वविद्यालयको सहभागिता छ । सम्मेलनमा विभिन्न ४ कार्यपत्रमाथि छलफल हुनेछ ।


प्रतिक्रिया दिनुहोस