काभ्रेका ७ स्थानीय तहमा सकियो प्रथम त्रैमासिक समिक्षा

नौलो समाचार संवाददाता
२०८० मंसिर १२, मंगलबार मा प्रकाशित ३४७ पटक पढिएको
काभ्रेका ७ स्थानीय तहमा सकियो प्रथम त्रैमासिक समिक्षा

भुम्लु \ जिल्ला समन्वय समिति काभ्रेले ७ स्थानीय तहको प्रथम त्रैमासिक अवधीको समिक्षा सकाएको छ । १३ स्थानीय तहलाई विभिन्न ६ क्लष्टरमा विभाजन गरेर समिक्षा गराएको जिल्ला समन्वय समितिले ३ कल्ष्टरमा प्रथम त्रैमासिक समिक्षा टुंग्याएको हो ।

जिल्ला समन्वय समिति प्रमुख दिपकुमार गौतमका अनुसार, नमोबुद्ध नगरपालिका, तेमाल र रोशी गाउँपालिकाको भकुण्डेवेशीमा र मण्डनदेउपुर र पाँचखाल नगरपालिकाको पाँचखालमा समिक्षा सकिएको छ । सोमबार भुम्लु र चौरीदेउराली गाउँपालिकाको समिक्षा भुम्लुमा सकिएको छ । ‘३/३ मा महिनामा समिक्षा गरेर प्रतिवेदन प्रदेश र संघ सरकारम पठाउने परिपत्र भए अनुरुप प्रथम त्रैमासिक अवधीको समिक्षा भइरहेको हो,’ प्रमुख दिपककुमार गौतमले भने, ‘यस्ता समिक्षाले स्थानीय तहका कामकारबाही सुधार्न मद्धत पुग्छ तर प्रथम त्रैमासिक अवधीको प्रगति सन्तोषजनक भने पाइएन ।’

समिक्षामा भम्लु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद सुवेदी र चौरीदेउराली गाउँपालिकाका सूचना प्रविधी अधिकृत विष्णु चौलागाईले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बाग्मती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्सालले प्रदेश सरकारको बजेट १० अर्बले घटेकोले त्यसको स्वभाविक असर स्थानीय तहमा परेको तर्क गरे । राजस्व बढाउन तीन वटै तहका सरकारले भुमिका खेल्नुपर्ने उनले बताए । विगतको तुलनामा भुम्लुमा विकासले गति लिएको पनि उनले दाबी गरे ।

जिल्ला समन्वय समितिका उपप्रमुख रिमबहादुर तामाङले २०४६ सालपछिका सबै परिवर्तनमा आफू संलग्न भएको भन्दै विकास नै नभएको भन्ने आरोप गलत भएको बताए ।

चौरीदेउराली गाउँपालिका अध्यक्ष रेणुका चौलागाईले समिक्षामा आएका सबै प्रतिकृयालाई सकरात्मक रुपमा लिने भन्दै त्यसले सुधार्ने अवसर मिल्ने बताए । उनले जनप्रतिनिधीले मात्रै चाहेर समृद्धी नआउने भन्दै सबै मिलेर समृद्ध गाउँपालिका बनाउनुपर्ने बताइन् । असुल उपर गर्नुपर्ने बेरुजु धेरै नभएको भन्दै उनले क्रमशः घटाउँदै लगिएको बताए ।

भुम्लु गाउँपालिका अध्यक्ष प्रेमबहादुर भुजेलले बेरुजु हुन नदिन योजना, कार्यक्रम, बजेट कार्यान्वयन गर्दा सबै नियम, मापदण्ड पालना गर्ने प्रतिवद्धता जनाउँदै बेरुजु क्रमश फच्र्यौट गर्दै जाने बताए । उनले रैथाने बालीको संरक्षणको लागि अनुदान दिँदा अनियममितता भएको भए छानबिन गरेर कार्बाही गर्ने बताए ।

भुम्लु गाउँपालिका उपाध्यक्ष जितेन्द्रमान तामाङ (दावा) ले यस प्रकारका समिक्षाले जनप्रतिनिधीले सच्चिने मौका पाउने भन्दै आगामी दिनमा सच्चिने मौका पाउने बताए ।

भुम्लुका पूर्व उपाध्यक्ष कल्पना श्रेष्ठले आवद्यिक योजना अनुसार अघि बढे सफलता पाउने बताइन् ।

दलहरुले पनि सुधारिन सुझाव दिएका थिए ।

नेकपा एमाले भुम्लुका अध्यक्ष प्रेम लामाले बेरुजु घटाउने कार्ययोजनाबारे प्रश्न गर्दै कार्यपात्रो सार्वजनिक गरेर अघि बढ्नुपर्ने बताए । उनले रैथाने बाली संरक्षणको लागि दिएको अनुदानम अनियमितता भएको भन्दै छानबिन गर्न माग गरे ।

नेपाली कांग्रेस भुम्लुका उपसभापति प्रेम लामाले अनुदान भन्दा पनि प्रविधी र प्राविधिक सहयोग गरेर उत्पादन, आम्दानी बृद्धिका साथै बजारिकरणमा जोड दिनुपर्ने बताए ।

नेकपा एकिकृत समाजवादी भुम्लुका इञ्चार्ज सुरेश कक्षपतिले गाउँपालिकाले दहत्तर बहत्तर उठाउने नाममा जथाभावी दोहन गरेकाले पर्यटकीय गतिविधीमा असर गरेको बताए ।

नेकपा एस चौरीदेउरालीका संयोजक डुप्चेन लामाले शिक्षकको तुलनामा विद्यार्थी धेरै नै कम भएकोले त्यसतर्फ ध्यान दिन अनुरोध गरे ।

राष्ट्रिय स्वतन्त्र पार्टी चौरीदेउरालीका प्रतिनिधीले ग्रामिण भेगबाट बढ्दो बसाइसराई रोकथाम गर्न पहल गर्नुपर्ने बताए ।


प्रतिक्रिया दिनुहोस