जनचेतना जगाउन सडक नाटक, अग्रणी महिलालाई सम्मान

नौलो समाचार संवाददाता
२०८० मंसिर १८, सोमबार मा प्रकाशित ३९३ पटक पढिएको
जनचेतना जगाउन सडक नाटक, अग्रणी महिलालाई सम्मान

बनेपा / लैंगिक हिंसाका विभिन्न स्वरुप र त्यसका पीडा सडक नाटक, लोकगितमार्फत व्यक्त गरिएको छ ।

लैंगिक हिंसाको १६ दिने अभियान अन्तर्गत सोमबार दिउसो बनेपास्थित चारदोबाटोमा सडकनाटकका साथै लोकगित लगायतका सास्कृतिक प्रस्तुति गरिएको हो ।

जिल्ला समन्वय समिति काभ्रेको आयोजनामा भएको कार्यक्रममा ‘डम्बरबहादुरको सपना’ प्रस्तुत गरियो । छोरा र छोरीबिचमा गरिने विभेद र त्यसको आधारमा हुने हिंसालाई नाटकिय रुपमा प्रस्तुत गरि जनचेतना जगाउन सडक नाटक प्रस्तुत गरिएको थियो ।

बाल कलाकार आयुषा गौतम, सुपृम मल्ल, जनक माध्यमिक विद्यालयका विद्यार्थीले आफ्नो कला प्रस्तुत गरेका थिए ।

जिल्लामा समन्वय समितिका प्रमुख दिपक गौतमले विभिन्न स्वरुपमा लैंगिक हिंसा भइरहेको भन्दै उनले लैंगिक हिंसामुक्त जिल्ला बनाउनुपर्ने बताए ।

बनेपा नगर उपप्रमुख बिमला सापकोटा दाहालले लैंगिक हिंसा न्युनिकरण गर्ने हो भने सबैले म लैंगिक हिंसा गर्दिन भन्ने प्रतिवद्धता गर्नुपर्ने बताइन् ।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले सर्वप्रथम लैंगिक हिंसाबारे बुझ्न जरुरी रहेको भन्दै यसको बिरुद्ध बर्षभरी नै अभियान चलाउन जरुरी भएको तर्क गरिन । लैंगिक हिंसाका विभिन्न स्वरुप हुने भन्दै उनले त्यसबारे कानुनी व्यवस्थाहरु जानकारी गराउनुपर्ने बताइन् ।

जिल्ला समन्वय समितिका प्रवक्ता अप्सरा ढुंगाना सिपखानले अभियान अन्तर्गत प्रत्येक बर्ष छुट्टाछुट्टै स्थानीय तहमा कार्यक्रम गरिने बताइन् ।

जिल्ला समन्वय समितिका सदस्य कृष्णकुमारी राईले घर घरबाटै लैंगिक हिंसा अन्त्य गर्न पहल गर्नुपर्ने बताइन् ।

कार्यक्रममा चौरीदेउराली गाउँपालिका अध्यक्ष रेणुका चौलागाईं, पनौती नगर उपप्रमुख गिता बन्जारा, बनेपा नगर उपप्रमुख बिमला सापकोटा, पाँचखाल नगर उपप्रमुख सुर्यमाया दनुवार, प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्मा, बेथानचोक गाउँपालिका उपाध्यक्ष तारा राना, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र काभ्रेका प्रमुख वशम्वद्म्वा कौडिन्यायनी, जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख अनिता खनाल र भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रका प्रमुख श्रीजा वाग्ले र जिल्लामा निर्वाचित एकमात्र वडाअध्यक्ष महिला शुभलक्ष्मी मानन्धरलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा सुरक्षा निकायका प्रमुख, प्रतिनिधी, विद्यार्थी र स्थानीयको उपस्थिती थियो ।


प्रतिक्रिया दिनुहोस